सालबारी: शब्द समयको १५०औँ प्रकरण शनिवार जयशोदा भवन, सालबारीमा सम्पन्न भयो।कार्यक्रमको अध्यक्षता वरिष्ठ कवि मोहन ठकुरीले गरेका थिए। स्वागत भाषणपछि कविता अधिकारीको अगुवाईमा एउटा उदबोधनी गीत प्रस्तुत गरियो जसमा लभकुमार भुजेल, मोनिका प्रधान, डा. लक्ष्मी देवान सहभागी थिए। यसै क्रममा डा. सञ्जय बान्तवाले वक्तव्य राखेका थिए। यसै प्रकरणमा शब्द समयको बहुचर्चित र अपेक्षित कथासङ्ग्रह ‘शब्द समय’को विधिवत् लोकार्पण भयो। कथासङ्ग्रहमाथि वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले सविस्तार वक्तव्य राखेका थिए। त्यसपछि वरिष्ठ कवि नोर्जाङ स्याङदेनले एउटा कविता सुनाएका थिए। वक्तव्यको क्रममा नेपालबाट आएका विशिष्ट अतिथि चन्द्र भण्डारी र दीपक सुवेदीले पनि आ-आफ्नो वक्तव्य राखेका थिए। त्यसपछि समीर शर्माले एउटा गजल पढेर सुनाए भने मोनिका प्रधानले एउटा स्तरीय कविता पाठ गरिन्। यसै क्रममा नीरा सुब्बा नेचालीले केही हाइकु पाठ गरेर सुनाइन्। त्यसपछि मणिकुमार प्रधानले बुकुने कथा र कालूसिंहले केही युग्मक पढे। नेपालबाट आएका अतिथि विष्णु न्यौपानेले एउटा अति आकर्षक छन्दोबद्ध कविता गाएर सुनाए। अध्यक्षको मन्तव्यपछि निर्मल सिञ्चुरीले धन्यवाद ज्ञापन गरेका थिए। यसरी शब्द समयको १५०औँ प्रकरण सुचारु रूपले सम्पन्न भयो।










