व्यवसायीहरुमाझ दमक खानेपानीका नवनिर्वाचित नेतृत्वको गर्यो प्रतिवद्धता

IMG-20240508-WA0012

झापा: झापा जिल्ला स्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित नेतृत्वसँग दमक उद्योग वाणिज्य संघले खानेपानी सेवालाई अझ व्यवस्थित बनाएर लैजाने विषयमा अन्तरक्रियात्मक छलफल गरेको छ। संघले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामनासहित यहाँका घर घरमा पिउने पानीको आपूर्तिसँगै सार्वजनिक स्थलहरुमा सर्वसाधारणका लागि खानेपानीको सेवा दिने बिषयमा समेत छलफल गरेको हो। 

सो अवसरमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी न्यौपानेले खानेपानीका सन्दर्भमा प्राप्त सुझाव सल्लाहलाई आत्मसाथ गर्दै एक ढिक्का भएर आफ्नो नेतृत्वले कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष न्यौपानेले पहिलो बैठकबाट नै खानेपानीको न्यूनतम खपतमा रहेको महसुलको दरलाई १३० रुपियाँबाट घटाएर ५० रुपियाँ कायम गरिएको र ६ महिना भित्र दमक खानेपानीमा परिवर्तनको अनुभुति हुने गरि काम गर्ने पनि प्रतिबद्धता जनाए। संस्थाको नेतृत्वका लागि चुनावी मैदानमा रहेका सबै पक्षले उठाएका मुद्धाहरु साझा किसिमका भएकाले तिनको कार्यान्वयन पनि एकतावद्ध भएर गरिने कुरामा दुइमत नरहेको अध्यक्ष न्यौपानेको भनाइ थियो।

कार्यक्रममा खानेपानीको सेवा क्षेत्र विस्तार गर्न, विपन्नहरुका घरमा पनि धारा जडान गरि सबैलाई दमक खानेपानीमा अपनत्व महसुस गराउन, बजार क्षेत्र भित्र ठाउँ ठाउँमा खानेपानीका सार्वजनिक धाराहरुको व्यवस्था गर्न, आगलागीको घटना हुँदा तत्काल पानीको बन्दोबस्ती हुने गरिको व्यवस्था मिलाउन, धारामा पानी आउने समयलाई बढाएर चौबीसै घण्टा आपूर्तिको व्यवस्था मिलाउन, समस्या आएको ठाउँमा तत्काल प्राविधिक टोली खटाउन, प्रविधिको उच्चतम प्रयोग गरेर पानीको परिक्षण वैज्ञाज्ञानिक ढंगबाट गर्न र प्रभावकारी सेवा प्रदान गर्न व्यवसायी अगुवाहरुले सुझाव दिएका थिए।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्धय विजयप्रसाद बराल र प्रकाश प्रसाइँ, संघका वर्तमान अध्यक्ष गोपाल गुरागाइँ, लेखा समिति संयोजक नेत्रप्रसाद चम्लागाइँ, वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, सल्लाहकार राजकुमार श्रेष्ठ, किराना व्यवसायी संघका अध्यक्ष कृष्ण अधिकारी, पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने लगायतले सुझावसहित खानेपानी सेवा प्रभावकारी रुपमा प्रदान गर्न सुझाव राखेका थिए। कार्यक्रममा दमक खानेपानीका नवनिर्वाचित अध्यक्ष न्यौपानेसँगै   उपाध्यक्ष कुमार निरौला, कोषाध्यक्ष बिक्रम अधिकारी, सदस्यहरु दुर्गा काफ्ले, रिता श्रेष्ठलाई संघका तर्फबाट सम्मान पत्रद्धारा सम्मानसहित बधाई ज्ञापन गरिएको थियो भने नवर्निाचित सबैले आआफ्नो धारणासहित प्रतिबद्धता व्यक्त गरेका थिए।

About Author

Advertisement