विष्णु शर्मा अधिकारीको ‘मानस-पुत्र’ विमोचित

00-cfff3aec-aeba-4695-98bc-52f087f0ee1c

बाग्राकोट: विशिष्ट आख्यानकार विष्णु शर्मा अधिकारीको दोस्रो कथा सङ्ग्रह तथा पाँचौं मौलिक कृति ‘मानस-पुत्र’-को बाग्राकोटस्थित उनकै निजी निवासमा विमोचन गरिएको छ। छः दशकभन्दा लामो समयदेखि निरन्तर लेख्दै आइरहेका अधिकारीको पहिलो कथा ‘किशोरको टमी’ १९६७ मा ‘दियालो’-मा प्रकाशित भएको थियो। डुवर्सेली साहित्यमा पहिलो उपन्यास लेख्ने श्रेय पनि उनैलाई जान्छ। डुवर्सका आठ उपन्यासमध्ये तीनवटा उपन्यास उनले लेखेका हुन्। आज वरिष्ठ साहित्यकार शंकर प्रधान, युवा समालोचक रूपेश शर्मा, वरिष्ठ बुद्धिजीवी जेबी छेत्री, साहित्यकार निर्मल शर्मा, कथाकार मदन खड़्का, कथाकार तथा अनुवादक गंगाप्रसाद प्रधान अनि कवि अनन्त श्रेष्ठका बाहुलीबाट ‘मानस पुत्र’-को विमोचन गरियो। समारोहलाई गंगाप्रसाद प्रधानले अध्यक्षता गरेका थिए भने अन्वेषणात्मक लेखक निर्मल शर्माले कार्यक्रमको सञ्चालन गरे।

कथा सङ्ग्रहको समीक्षा गर्दै मदन खड्काले विष्णु शर्मा अधिकारीका कथाहरूमा सामाजिक मूल्य बढ़ी रहेको जिकिर गरे। एकएक कथाहरूको विश्लेषण गर्दै खड़्काले उनका कथाहरू शिक्षामूलक रहेको बताए। अधिकारीका कथाहरूको प्रवृत्तिगत विश्लेषण गर्दै समालोचक रूपेश शर्माले उनका कथाहरूमा पाइने विभिन्न पक्षहरूको उद्घाटन गरे। अधिकारीका कथाहरूप्रति आलोचनात्मक दृष्टि राख्दै शर्माले कथामाथि विश्लेषणात्मक अध्ययन प्रस्तुत गरे। कथाहरूमा कथाकारको आलोचनात्मक धार शिथिल भएको र भाग्यवाद, ज्योतिषवाद र लोक भाष्यहरूप्रति कथाकारको आशक्ति बढ़ी रहेको कुरा उनले खुलेर राखे। चार्वाक दर्शनमाथि कथाकारको भनाइलाई उद्धृत गर्दै उनले त्यसमा देखिएको अन्योलताप्रति पनि प्रश्न उठाए। आफ्नो वक्तव्यको क्रममा कथाकार विष्णु शर्मा अधिकारीले शुभचिन्तकहरूका शुभेच्छाकै शक्तिले यो वार्धक्यमा पनि पुस्तक निकाल्न सम्भव भएको मन्तव्य गरे। यसमा सङ्ग्रहीत आधासरो कथा अघिबाटै पत्र-पत्रिकामा प्रकाशित भइसकेको र आधाउदी मात्र नयाँ कथाहरू लेखिएको जानकारी गराउँदै शारीरिक अस्वास्थ्यता र वार्धक्य लेखनमा बाधा भएको उनले बताए। वरिष्ठ बुद्धिजीवी जेबी छेत्रीले विष्णु शर्माका कथाहरूले दैनिक जीवनलाई छुनुका साथै अर्थनैतिक चेतना पनि बोकेको टिप्पणी गरे। यो उमेरमा पनि कथा लेखेर अधिकारीले हाम्रो समाजलाई उपकृत तुल्याएको उनको भनाई थियो। यसैगरी, वरिष्ठ साहित्यकार शङ्कर प्रधानले विष्णु शर्मा अधिकारी जन्मजात कथाकार भएको मन्तव्य गरे। अधिकारीका कथाहरूमा ग्रामीण जीवन बढ़ी मुखरित भएको उनको ठहर थियो। आफ्नो अध्यक्षीय सम्बोधनमा गंगाप्रसाद प्रधानले विष्णु शर्मा अधिकारीको परिचयको फाँट धेरै पुरानो र दीर्घकालीन रहेको बताए। उनको ‘झुम्के बुलाकी’ कथालाई आफूले अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयास गरेको पनि उनले अवगत गराए।

यसअघि, स्वागत वक्तव्य राख्दै पुस्तकका प्रकाशक तथा अधिकारीका सुपुत्र देवराज शर्माले साहित्यकारहरूको उपस्थितिले सर्जकको हौसला बढ़ेको बताए। कार्यक्रमको प्रारम्भमा कवि अनन्त श्रेष्ठले कथाकारलाई शुभेच्छा तथा बधाई प्रकट गरेका थिए। यस अवसरमा साहित्य परिक्रमा परिवारका कर्मठ सदस्यहरू अजय श्रेष्ठ, गणेश बस्नेत, रूपनारायण प्रधान आदिको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement