खरसाङ: विश्व पर्यावरण दिवसको उपलक्ष्यमा मानव उत्थान सेवा समिति, खरसाङ तहशिलका स्वंयसेवक अनि सदस्यहरुले खरसाङ महानदी नजिक १४ माइल क्षेत्रमा वृक्ष रोपण कार्य सम्पन्न गरेका छन्। यस कार्यक्रमलाई माउसेस खरसाङ तहशिलका प्रभारी सन्त महात्मा मनोहरी बाईजीले अगुवाइ गरेकी थिइन् भने खरसाङ लगायत तीनधारे अनि घैयाबारी शाखाका धेरै सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। स्मरण रहोस् मानव धर्मका प्रणेता सद्गुरुदेव सतपालजी महाराजको प्रेरणामा समितिले पर्यावरणको सन्तुलन अनि संरक्षण हेतु यस अरण्य सप्ताहमा देशव्यापी वृक्ष रोपणको कार्यक्रम चलाइरहेको छ। थप जानकारी प्राप्त भए अनुसार माउसेस खरसाङ तहशिल अन्तर्गत बालासन चियाबारी अनि मार्गरेट्स होप चियाबारीमा पनि समितिका सदस्यहरूले व्यापक वृक्ष रोपण गरेका छन्। यस कार्यक्रमलाई सफल बनाउन रुखका बिरुवाहरु समितिलाई प्रदान गरेर सहयोग गर्न हुने वन विभागका सम्बन्धित अधिकारीहरुप्रति समितिले कृतज्ञता प्रकट गरेका छन्।










