सिलगढी: उत्तर बङ्गालकै ऐतिहासिक र लोकप्रिय चिया दाेकानको पहिचान बटनाएको सिलगढीको ‘नेताजी केबिन’ ले राष्ट्रिय स्तरमा विशेष सम्मान पाएको छ। विश्व चिया दिवसको विशेष अवसरमा केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले नेताजी केबिनका सञ्चालक प्रणवेन्दु बागचीलाई एक बधाई तथा शुभकामना सन्देश पठाएकी छिन्। केन्द्रीय मन्त्रीबाट प्राप्त यो गौरवमय पहिचानले सञ्चालक परिवार मात्र होइन, सिलगडी र समग्र उत्तर बङ्गालबासीमै खुसीयाली र गर्वको वातावरण छाएको छ। सिलगढीको मुटुमा रहेको नेताजी केबिन वर्षौंदेखि चिया प्रेमीहरूको पहिलो रोजाइ बन्दै आएको छ। यहाँको कडा चिया र न्यानो आतिथ्यताको खोजीमा सिलगढी मात्र नभई उत्तर बङ्गालका विभिन्न क्षेत्रबाट दैनिक रूपमा ग्राहकहरूको ठूलो भीड लाग्ने गर्दछ, जसका कारण यो पसल उत्तर बङ्गालको एउटा सांस्कृतिक र ऐतिहासिक संवाहकका रूपमा स्थापित भएको छ।
केन्द्रीय अर्थमन्त्रीको सन्देश पाएपछि भावुक र खुसी बन्दै सञ्चालक प्रणवेन्दु बागचीले आफूले सधैँ ग्राहकहरूलाई उच्च गुणस्तरको चिया खुवाउने प्रयास गरेको र यसलाई आफ्नो कर्तव्य ठानेको बताए। उनले आज केन्द्र सरकारबाट प्राप्त यो सन्देशलाई आफ्नो वर्षौँको निरन्तर प्रयासको कदरका रूपमा लिएको उल्लेख गर्दै यस सफलताको सम्पूर्ण श्रेय सिलगढी र उत्तर बङ्गालका जनतालाई दिए, जसको निरन्तर माया र साथले यो यात्रा सम्भव भएको हो।
नेताजी केबिनको यो सुखद चर्चासँगै सिलगढी र आसपासका क्षेत्रका अन्य घटनाक्रमले पनि स्थानीय बजार तताएको छ। राजनीतिक वृत्तमा गजोलडोबाको ताकीमारी क्षेत्रमा भारतीय जनता पार्टीले जेसीबी मेसिनहरू प्रयोग गरेर निकालेको भव्य विजय र्यालीले ठूलो चर्चा बटुल्यो। अर्कोतर्फ, सुरक्षा र अपराधका घटनाहरूले पनि स्थानीय प्रशासनलाई व्यस्त बनाएको छ। सिलगढीको भालोबासा मोड क्षेत्रमा रहेको एउटा किराना पसलमा निकै बद्मासीपूर्ण तरिकाले दिउँसै लुटपाट भएको घटना सार्वजनिक भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
यसैबीच, कानुन व्यवस्था चुस्त राख्न प्रहरी प्रशासन पनि सक्रिय देखिएको छ। सिलगढीको खालपारा क्षेत्रमा प्रहरीले अतिक्रमण हटाउन र लागुऔषध विरुद्ध एकैसाथ ठूलो अभियान सुरु गरेको छ। त्यस्तै, फान्सिदेवा क्षेत्रमा अवैध रूपमा भइरहेको बालुवा तस्करी विरुद्ध कारबाही गर्दै प्रहरीले बालुवा लोड गरिएको एउटा डम्पर नियन्त्रणमा लिएको छ भने सिलगढीकै वार्ड नम्बर ४६ मा नियम मिचेर बनाइएको एक अवैध निर्माणलाई प्रशासनले डोजर चलाएर पूर्ण रूपमा भत्काएको छ।









