विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति निर्विरोध

IMG-20260115-WA0086

काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी सभापतिमा गगन थापालाई निर्विरोध चयन गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टापछि भृकुटीमण्डपमा बसेको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
नयाँ नेतृत्व चयनसँगै अद्यावधिक दस्तावेजसहित बिहीबार नै निर्वाचन आयोग जाने तयारी गरिएको विशेष महाधिवेशन पक्षका नेता मधु आचार्यले बताए। “विशेष महाधिवेशनबारे आयोगलाई पहिल्यै जानकारी गराइसकेका थियौँ। अब अद्यावधिक कागजातसहित कार्यालय खुल्नासाथ आयोग जान्छौँ,” उनले भने।
नयाँ नेतृत्व चयनबारे कांग्रेसको संस्थापन पक्षले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि बुधबार बसेको संस्थापन पक्षीय केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र मन्सुरलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो। तर कारबाहीमा परेका नेताहरूले उक्त निर्णयको कुनै वैधानिक अर्थ नरहेको प्रतिक्रिया दिएका छन्।
मध्यरातमा नतिजा
विशेष महाधिवेशनको निर्वाचन समितिले मध्यरातमा नयाँ नेतृत्वको नतिजा सार्वजनिक गरेको नेताहरूले बताएका छन्। निर्वाचन समितिका अनुसार सभापतिमा गगन थापा निर्विरोध चयन भएका हुन्।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।
सहमहामन्त्रीमा महिलातर्फ डिला सङ्ग्रौला, खसआर्यतर्फ उदयशमसेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र दलिततर्फ प्रकाश रसाइली चयन भएका छन्। आदिवासीतर्फ बहादुरसिंह लामा, थारूतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बूढा सहमहामन्त्री बनेका छन्।
आयोग जाने तयारी
विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार विशेष महाधिवेशनबारे केही दिनअघि नै निर्वाचन आयोगलाई जानकारी गराइसकिएको थियो। सम्भावित कानुनी अड्चनबारे महामन्त्रीहरूले कानुनविद्हरूसँग परामर्शसमेत गरिसकेका छन्।
विशेष महाधिवेशन पार्टी विधानअनुसार आयोजना गरिएको दाबी गर्दै नेता आचार्यले भने, “विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। सर्वोच्च निकायले गरेका निर्णय नै पार्टीका आधिकारिक निर्णय हुन्छन्।”
तर संस्थापन पक्षले भने वर्तमान पदाधिकारीहरूको कार्यकाल अझै बाँकी रहेकाले नयाँ नेतृत्व चयन गर्न नमिल्ने अडान राख्दै आएको छ। उनीहरूले भृकुटीमण्डपको कार्यक्रमलाई ‘विशेष महाधिवेशन नभई भेला मात्र’ भएको दाबी गरिरहेका छन्।
कारबाही ‘कानुनविपरीत’
संस्थापन पक्षले थापा, शर्मा र मन्सुरमाथि गरेको कारबाही पार्टीको नियमावली र राजनीतिक दलसम्बन्धी ऐनविपरीत रहेको विशेष महाधिवेशन पक्षको दाबी छ। “सफाइको मौका नदिई कारबाही गर्न मिल्दैन भन्ने व्यवस्था ऐन र पार्टी नियमावलीमै छ,” आचार्यले भने।
सभापति चयन भएका थापासहित विशेष महाधिवेशन पक्षका नेताहरूले निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिक मान्यता दिनेमा विश्वास व्यक्त गरिरहेका छन्।
आमनिर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयमा निर्वाचन आयोगको निर्णय निर्णायक हुने देखिएको छ। आउँदो फागुन २१ गते मतदान हुने तय भएको छ भने अब मतदान हुन ४९ दिन मात्र बाँकी छन्।

About Author

Advertisement