विवादास्पद सीमा बयान र बालेनको कूटनीतिक अपरिपक्वता

IMG-20260601-WA0115(1)

काठमाडौ(नेत्र बिक्रम बिमली): प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसदमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनी दिएको अभिव्यक्ति केवल एक राजनीतिक टिप्पणी मात्र होइन, बल्कि यो नेपालको स्थापित कूटनीतिक अडान र राष्ट्रिय संप्रभुतामाथि नै गम्भीर धक्का हो। विगत लामो समयदेखि सीमा अतिक्रमणको मार खेपिरहेको नेपाल आफैँ ‘अतिक्रमणकारी’ भएको भाष्य प्रधानमन्त्रीको कुर्सीबाटै निर्माण हुनु चरम गैरजिम्मेवारीपनको नमुना हो।
​सीमा जस्तो अत्यन्त संवेदनशील र ऐतिहासिक दस्तावेजमा आधारित विषयलाई बिना कुनै ठोस प्रमाण, हल्का रूपमा ‘मैले प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ’ भन्नुले बालेनको अपरिपक्वता र कूटनीतिक अज्ञानतालाई छर्लङ्ग पार्छ। भारतले आजसम्म आधिकारिक रूपमा नेपालमाथि जग्गा मिचेको आरोप नलगाएको अवस्थामा स्वयं देशको कार्यकारी प्रमुखले नै यस्तो बयान दिनुले भविष्यमा द्विपक्षीय वार्ताहरूमा नेपालको स्थिति कमजोर बनाउनेछ र भोलि भारतले यसै बयानलाई नजिरका रूपमा प्रयोग गर्न सक्ने खतरा रहन्छ।
​त्यस्तै, निर्धारित कार्यसूची र पूर्वतयारी बिना संसद्‌मा प्रवेश गरेर ‘पत्रकार सम्मेलन’ को शैलीमा जबाफ दिनुले संसद्को स्थापित नियमावली र पदीय गरिमाको धज्जी उडाएको छ। सत्ताधारी दल (रास्वपा) का सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा आएको यो बयानले सरकारको नियतमाथि समेत शंका उब्जाएको छ। परराष्ट्र मन्त्रालयले ‘दशगजा क्षेत्रको खेतीपाती’ भन्दै बचाउ गरे तापनि संसद्‌मा रेकर्ड भइसकेको प्रधानमन्त्रीको शब्दले कूटनीतिक रूपमा ठूलो नोक्सान गरिसकेको छ।
​विगतमा केपी ओलीको अमर्यादित शब्द संसद्को अभिलेखबाट हटाइए जस्तै, यो राष्ट्रहित विपरीतको बयानलाई पनि संसद्को रेकर्डबाट नहटाइए यसले दीर्घकालीन रूपमा नेपालको सार्वभौमसत्तामाथि कानुनी र कूटनीतिक संकट निम्त्याउने निश्चित छ।

About Author

Advertisement