विवादास्पद पृष्ठभूमि भएका व्यक्ति श्रममन्त्री नियुक्त, सरकारको नैतिकतामाथि प्रश्न

IMG-20260327-WA0101

काठमाडौँ: बालेन शाह नेतृत्वको नवनिर्मित सरकारमा मन्त्री नियुक्तिलाई लिएर विवाद सुरु भएको छ। विशेषगरी श्रममन्त्रीको रूपमा नियुक्त भएका दिपक कुमार शाहको विगत सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आलोचना बढेको हो।
प्राप्त विवरणअनुसार, दिपक कुमार शाहलाई वि.सं. २०७३ असोज १२ गते ठगी आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनले काठमाडौँको पुतलीसडक क्षेत्रमा कन्सल्टेन्सी सञ्चालन गर्दै एमबीबीएस परीक्षा पास गराइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम असुलेको आरोप लागेको थियो।
अनुसन्धानका क्रममा उनले आफूलाई ‘डाक्टर’ भन्दै सर्वसाधारणलाई भ्रममा पारेको तथ्य पनि बाहिर आएको थियो। प्रहरीका अनुसार उनी वास्तविक डाक्टर नभई नक्कली परिचय प्रयोग गरेर ठगीमा संलग्न रहेको दाबी गरिएको थियो।
यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई श्रम तथा रोजगारसँग सम्बन्धित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइनुले सरकारको नैतिकता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ। वैदेशिक रोजगारीजस्तो संवेदनशील क्षेत्रसँग जोडिएको मन्त्रालयमा विश्वासनीयता अत्यन्त महत्वपूर्ण मानिन्छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाह ले मन्त्रीहरूलाई काम गर्न नसके पद छाड्न निर्देशन दिएका भए पनि मन्त्री चयनमै विवाद उत्पन्न भएपछि उनको निर्णयप्रति चासो र आलोचना दुवै बढेको छ।
हालसम्म यस विषयमा प्रधानमन्त्रीको सचिवालय वा श्रममन्त्री शाहको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि, सामाजिक सञ्जालमा सरकारको निर्णयबारे तीव्र बहस भइरहेको छ।

About Author

Advertisement