विराटनगर: मोरंगको विराटनगरमा रहेको एउटा विद्यालयमा चोरी भएको छ। विराटनगर महानगरपालिका-८ देवकोटा चोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शुक्रबार साँझ ७ः३० बजेतिर चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न २ जना पक्राउ परेका छन्। चोरी गरेर सामान लैजाँदै गर्दा विराटनगर-८ का विजय चौधरी र विराटनगर-२ का मनिष मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।
उनका अनुसार विद्यालयको कोठाको ताला फोडेर कम्प्युटरको मनिटर २ थान, सीपीयू १ थान, प्रिन्टर १ थान र धाराको सकेट २ थान चोरी गरेको पाइएको छ। चोरीका सामान लिएर जाँदै गर्दा वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले चौधरी र मण्डलाई पक्राउ गरिएको डीएसपी जोशीले बताए।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विद्यालयमा अहिले बिदा छ। चाडपर्वका बेला विद्यालय बन्द भएको मौका छोपेर चोरी गरेको पाइएको जानकारी प्रहरीले दिएको छ।








