सोनादा: विभिन्न संघ-संस्थाहरूले समाजलाई पिरोल्ने विभिन्न समस्याहरूबाट सतर्क गराउन निरन्तर विशेष अभियान चलाउँदै आइरहेको छ। यस्तै सतर्कता अभियान अन्तर्गत रङबुलमा गैर सरकारी संस्था आशारिका फाउन्डेशनको सक्रियतामा डिस्ट्रिक्ट लिगल सर्भिस अथोरिटी (डीएलएसए-डाल्सा) र दार्जीलिङ चाइल्डलाइन खरसाङ उप-केन्द्रलाई समावेश गराएर सचेतनामूलक कार्यक्रम सम्पन्न भयो।
यस कार्यक्रममा दार्जीलिङ चाइल्डलाइन खरसाङ उप-केन्द्रकी प्रभारी ईशा लेप्चाले बालबालिकाहरूको सुरक्षाका लागि चाइल्डलाइनले गर्ने प्रक्रियाबारे विस्तृत रुपमा जानकारी दिइन्। आफ्नो प्रस्तुतिमा उनले बाल अधिकारबारे पनि जानकारी दिइन्। उनले बालबालिकाहरूको सुरक्षाका लागि सबैलाई सक्रिय रहने आग्रह गरिन्।
डाल्साका प्रतिनिधि कविता तामाङ प्रधान र विशाल गुरुङले डाल्साद्वारा गरिने कानुनी सुविधाहरू साथै बढ्दो साइबर अपराध बारेमा सबैलाई अवगत गराए। दुवैले कानुनी सुझाव दिँदै लोक अदालतको बारेमा पनि सबैलाई जानकारी दिएका थिए।
चाइल्डलाइनकी टीएम मेम्बर देवीमाया प्रधान तामाङले बाल तस्करीका कारणहरूबारे अवगत गराउँदै यसबाट सबैलाई सतर्क रहने आह्वान् गरिन्। उनले बढ्दो दुर्व्यसनको समस्यालाई निर्मूल पर्न सबैलाई अघि आउने आग्रह गरिन्। हालमा बढ्दै गइरहेको बाल विवाह समाजको लागि समस्यामूलक चुनौती भएको छ। बाल विवाह समाजका लागि अर्को घातक समस्या भएको हुनाले यसलाई रोक्न समग्र समाज नै सक्रिय रहनु आवश्यक छ भन्ने कुरा चाइल्डलाइनकी टीएम मेम्बर दीपशिखा छेत्रीले बताइन्।
सही उमेर अघि नै बिहे गर्दा हुने क्षतिहरूबारे उनले उपस्थित सबैलाई अवगत गराउँदै बाल विवाह कानुनी अपराध रहेको हुनाले सबैलाई यसबाट सतर्क भएर बस्नुपर्ने बताइन्। रङबुल फाटकको गणेश मन्दिर परिसरमा आशारिका फाउन्डेसनद्वारा आयोजित यस कार्यक्रममा विभिन्न संघ-संस्था, स्वनिर्भर समूह साथै विद्यार्थीहरू उपस्थित थिए।











