विभिन्न मुद्दालाई लिएर वार्ताकारसँग महत्त्वपूर्ण भेटघाट

6fbb698f-db5e-4d53-86e4-85d374852d81

मिरिक: गोर्खाहरूको लामो समयदेखि रहँदै आएका समस्याहरूको समाधान, गोर्खाल्यान्डको माग तथा पहाडका युवाहरूको भविष्यलगायत विभिन्न जनहितका मुद्दामा छलफल गर्न भाजपा दार्जिलिङ जिल्ला प्रवक्ता अनुप गदालले भारत सरकारद्वारा नियुक्त वार्ताकार पंकज कुमार सिंह र उनको टोलीसँग भेटघाट गरेका छन्। यस क्रममा उनले पहाडका प्रमुख समस्याहरू र जनताको अपेक्षासँग सम्बन्धित विभिन्न विषयमा आफ्ना विचारहरू राखे।
भेटघाटका क्रममा अनुप गदालले गोर्खाहरूको राजनीतिक समस्याको समाधानका लागि उनीहरूको माग र भावनालाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। उनले गोर्खाल्यान्डको माग गोर्खाहरूको सम्मान, पहिचान र राजनीतिक भविष्‍यसँग जोडिएको बताए।
उनले पहाडमा कथित रूपमा बढ्दै गएको भ्रष्टाचार र सर्वसाधारणले भोग्नुपरेका समस्याहरूको उल्लेख गर्दै निष्पक्ष छानबिन तथा जवाफदेही प्रशासन सुनिश्चित गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिए।
युवाहरूको भविष्यबारे चर्चा गर्दै गदालले युवा सांसद राजु विष्टको नेतृत्वमा युवाहरूलाई जिम्मेवारी र अवसर प्रदान गर्ने पहल भएको बताए। उनले आगामी दिनमा नेतृत्व तथा निर्णय प्रक्रियामा योग्य र इमानदार युवाहरूलाई अझ बढी अवसर दिनुपर्ने आवश्यकता औँल्याए।
यसका साथै, उनले पहाडका कलाकारहरूको कला, संस्कृति र सिर्जनात्मक प्रतिभाको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरे। स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न पर्याप्त अवसर, आवश्यक सहयोग र उचित सम्मान प्रदान गरिनुपर्ने बताउँदै उनले यसबाट पहाडको सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउन सकिने धारणा व्यक्त गरे।
गदालले पहाडको पहिचान, अस्तित्व, विकास र भविष्यको सुरक्षाका लागि ठोस पहल गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिए। पहाडवासीको आवाजलाई बेवास्ता नगरी उनीहरूका समस्याहरूको समाधान गर्ने दिशामा काम गर्नुपर्ने उनले बताए।
भेटघाटपछि अनुप गदालले भने, “युवाहरूलाई केवल आश्वासन दिनु पर्याप्त हुँदैन, उनीहरूलाई जिम्मेवारी र अवसर पनि प्रदान गर्नुपर्छ।”

About Author

Advertisement