सिलगढी: पश्चिम बङ्गला सरकारले प्राकृतिक विपद् तथा ठुला दुर्घटनाहरूको चुस्त व्यवस्थापन र तत्काल उद्धारका लागि २०० जना उच्च प्रशिक्षित सुरक्षाकर्मी सम्मिलित एउटा विशेष फोर्स गठन गर्ने घोषणा गरेको छ। राज्यका वित्त मन्त्री डा. स्वपन दासगुप्ताले सरकारको यो नयाँ योजना सार्वजनिक गर्नुभएको हो। प्रस्तावित विशेष फोर्समा भौगोलिक संवेदनशीलतालाई ध्यानमा राख्दै पहाडी क्षेत्रका ५० जना, सुन्दरवन क्षेत्रका ५० जना र राज्यका अन्य जिल्लाहरूबाट १०० जना दक्ष जनशक्ति समावेश गरिने बताइएको छ।
यो विशेष टोलीलाई उत्तर बङ्गालको पहाडी भूभाग लगायत राज्यका सबै विपद् जोखिमयुक्त क्षेत्रहरूमा तैनाथ गरिनेछ।
यसैबीच, दार्जीलिङका सांसद राजु विष्टले सरकारको यो कदमको स्वागत गर्दै विगतको तृणमूल कांग्रेस (टीएमसी) सरकारले विपद् व्यवस्थापन र राहत कार्यमा देखाएको उदासीनताको तुलनामा वर्तमान सरकारको यो निर्णय निकै सकारात्मक र दूरगामी रहेको टिप्पणी गर्नुभएको छ। सांसद विष्टले उत्तर बङ्गाल जस्तो प्राकृतिक विपद्को उच्च जोखिममा रहेको क्षेत्रलाई प्राथमिकतामा राखेर यस्तो ठोस नीति ल्याएकामा मुख्यमन्त्री शुभेन्दु अधिकारी र वित्त मन्त्री डा. दासगुप्ताप्रति आभार समेत प्रकट गर्नुभएको छ।









