विधायक लाम्टाले गरे मिलेट बेस्ड कुकिजकाे शुभारम्भ

n6242302831722274965925019d351d4660c084da7850a748a32c36b0cc4fa6debd46d180bc869ba6e6e128

गान्तोक: गान्तोक जिल्ला अन्तर्गत किशोरीहरूका लागि लोवर चानमारी आंगनवाडी सेन्टरमा आज मिलेट कुकिज शुभारम्भ कार्यक्रम आयोजन गरियो। महिला एवं बाल विकास विभागले किशोरीहरूका लागि योजना अन्तर्गत उक्त कार्यक्रम शुरू गरेको हो। कार्यक्रममा स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ लाम्टा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लाम्टाले महिला एवं बाल विकास विभागका मन्त्री सामडुप लेप्चा, सम्बन्धित विभागका अधिकारीगण साथै समस्त आंगनवाडी केन्द्रलाई नानीहरुको निम्ति स्वस्थ र पौष्टिक कुकिज शुरु गरेकोमा बधाई दिए। उनले नानीहरु आफ्नो लक्ष्यमा पुग्न स्वस्थ रहन आवश्यक रहेको र यो कुकिजले उनीहरुको स्वास्थमा सहयोग पुऱ्याउने कुरामा विश्वास व्यक्त गरे।

विधायक लाम्टाले विद्यार्थीहरुलाई सोशियल मिडियाका विज्ञापनहरुमा देखाइने विभिन्न प्रकारका हानिकारक मिश्रित खानेकुराहरु नखाएर यस्तै पौष्टिक खानेकुरा खानुपर्ने सुझाउ दिए। राज्यका आंगनवाडी केन्द्रहरुले राज्य सरकारबाट सहयोग राशिहरु प्राप्त गरिरहेको, तर केन्द्रबाट विगत १६ महिनादेखि सहयोग राशि प्राप्त नगरेको कुरालाई उल्लेख गर्दै आगामी विधानसभाको सत्रमा यस विषयलाई पनि उठान गर्ने जानकारी गराए।

यसै क्रममा आईसीडीएसकी उप निदेशक दोर्जी डोमा भोटियाले यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य र औचित्यबारे प्रकाश पारिन्। आजदेखि शुभारम्भ हुन लागिरहेको कुकिज विशेष गरेर १४-१८ वर्षसम्मका बालिकाहरुका लागि उपलब्ध गराइने जानकारी गराइन्। यस उमेरका नानीहरुको निम्ति स्कूलहरुमा मिड डे मिलको प्रबन्ध नरहेको कारण साथै अहिलेका नानीहरुले धेरै मात्रामा जंक फुड खाने गरेकाले यसले केही हदसम्म नानीहरूको स्वास्थयमा सहयोग पुग्न सक्ने सम्भावना व्यक्त गरिन्। गान्तोक जिल्लामा आज पहिलोपल्ट यो कुकिजलाई लञ्च गरिएपछि यो आंगनवाडी केन्द्रहरमार्फत वितरण गरिने योजना रहेको उनले बताइन्।

About Author

Advertisement