सोनादा: १९८६ सालको आन्दोलनका कमाण्डर अन्तरे राईसँग दार्जिलिङका विधायक निरज जिम्बाले भेटघाट गरेका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक सदस्य तथा सन् १९८६ सालको ऐतिहासिक आन्दोलनका कमाण्डर, अप्पर सोनादा निवासी अन्तरे राईसँग सोमवार एक आत्मीय भेटघाट सम्पन्न भएको छ। गोरामुमोका केन्द्रीय समिति सदस्य तथा दार्जिलिङका विधायक निरज जिम्बा स्वयम् उनको निवासमा पुगेर भेटघाट गर्नुका साथै उनको स्वास्थ्य अवस्था तथा हालखबर बुझेका थिए। उक्त भेटघाटका क्रममा गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङ राईका पिता समेत रहेका वरिष्ठ व्यक्तित्व अन्तरे राईसँग विधायक निरज जिम्बाले आशीर्वाद लिएको जानकारी प्राप्त भएको छ। उनले १९८६ सालको आन्दोलनका क्रममा भोगेका अनुभव, संघर्षका स्मृतिहरू तथा त्यस समयका महत्वपूर्ण घटनाक्रमबारे विस्तृत जानकारी पनि प्राप्त गरेका थिए। अन्तरे राईले आन्दोलनका दिनहरूमा गोर्खा जनताको अधिकार, पहिचान र स्वाभिमानका लागि गरिएको संघर्षको कथा सुनाउँदै त्यसबेलाको राजनीतिक परिस्थिति, जनताको उत्साह र आन्दोलनको वास्तविकताबारे विधायक तामाङलाई जानकारी दिएका थिए। उनका अनुभवहरू केवल इतिहासका पाना मात्र नभई भावी पुस्ताका लागि प्रेरणादायी मार्गदर्शनका रूपमा रहेको उल्लेख गरिएको छ। विधायक निरज जिम्बाले पनि आन्दोलनका अग्रज योद्धाहरूको योगदान अमूल्य रहेको बताउँदै उनीहरूका अनुभव र आशीर्वादले वर्तमान पुस्तालाई सही दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। यस प्रकारको भेटघाटले आन्दोलनका इतिहासलाई सम्झना गर्ने मात्र नभई पुराना र नयाँ पुस्ताबीच विचार, अनुभव र प्रेरणाको सेतु निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए।








