गान्तोक: अप्पर तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले आज होली क्रस स्कूल अघि फुट ओभर ब्रिजको शिलान्यास गरे। उल्लेखनीय छ, स्कूल राष्ट्रयी राजमार्ग छेउमा रहेको कारण विद्यार्थीहरूले धेरै समस्या भोग्न परिरहेको थियो। विशेष गरेर धेरै जना विद्यार्थीहरू सडक पार गर्द दुर्घटनाको शिकार बन्न परेको घटनालाई ध्यानमा राख्दै फुट ओभर ब्रिज निर्माण गरिने पहल शुरू भएको छ। विधायक ढुङ्गेलले जानकारी गराए अनुसार रानीपुलदेखि गान्तोकसम्म सातवटा फुट ओभर ब्रिज निर्माण गरिने भएको छ। यो फुट ओभर ब्रिज स्मार्ट सिटी योजना अन्तर्गत निर्माण हुन लागेको उनको भनाइ छ। लगभग सात करोडको लागतमा निर्माण गरिने पूर्वधारहरूले यात्रीहरूलाई दुर्घटनाबाट बचाउन सक्ने उनले मन्तव्य प्रकट गरे। हाल डाँडागाउँस्थित कन्वे ग्राउण्डमा पनि फुट ओभर ब्रिजको निर्माण कार्य शुरू हुन लागेको छ। मानिसहरूलाई सडक पार गरेर वाहनमा चढन यस ब्रिजको निर्माण कार्य पुरा भएपछि धेरै सहयोग पुग्नेछ। यसरी यसको निर्माण कार्यपछि यात्रीहरू सुरक्षित रोड पार गर्न सक्नेछन् भने जामको समस्यादेखि पनि राष्ट्रीय राजमार्गमा चल्ने वाहनहरूले मुक्ति पाउनेछन्। यस पूर्वधार विकासको निम्ति सामाजिक कार्यकर्ता दिले नामग्याल बरफुङ्गाले जमीन दान गरेका छन्। यसरी नै स्थानीय पार्षद छेवाङ थेन्डुप लेप्चाले बताए अनुसार होली क्रस स्कूल अघि धेरै पल्ट दुर्घटना भएको र यसमा कतिपय विद्यार्थीहरू घाइते पनि भएका थिए। उक्त स्कूलले पूर्व सरकारको कार्यकालदेखि नै फुट ओभर ब्रिजको माग गर्दै आइरहेका थिए तर त्यसबेला सरकारले कुनै वास्तव नगरेको बताए। तर वर्तमान मुख्यमन्त्रीले स्थानीय विधायक जीटी ढुङ्गेलको प्रस्तावलाई स्वीकार्दै धनराशि आवन्टन गरेपछि यसको निर्माण हुने भएको बताए। सोही प्रकारले होली क्रस स्कूलकी सिस्टर—ले यसरी वर्तमान सरकारले विद्यार्थीहरूको समस्यालाई ध्यानमा राख्दै फुट ओभर ब्रिज निर्माण गर्ने प्रस्तावलाई स्वीकार गरेकोमा सरकार साथै क्षेत्र विधायक प्रति आभार व्यक्त गरेकी छन्।











