गान्तोकः विद्या भारती सिक्किम प्रान्तद्वारा पूर्व सिक्किमको रानीपुलमा सञ्चालित सरस्वती विद्या निकेतनमा आज दुई चरणमा आचार्य-अभिभावक बैठक सम्पन्न भयो। बैठकको शुभारम्भ प्रान्तका संयोजक मोहन शर्माद्वारा दीप प्रज्ज्वलित गरेर गरियो।विद्यालयकी प्रधानाचार्य विद्या मोक्तानले विद्यालयमा आयोजित शैक्षिक एवं प्रशासनिक गतिविधि, वार्षिक योजना आदि विषय जानकारी गराइन्। प्रान्तका प्रशिक्षण प्रमुख सूर्य धितालले राष्ट्रिय शिक्षा नीति 2020 को बारेमा विस्तृत जानकारी प्रदान गरे। विद्यालयमा नानीहरूलाई राष्ट्रिय शिक्षा नीति अन्तर्गत कक्षा शिक्षण, अभिभावकहरूको भूमिका, भावी योजना आदि विषयहरूमाथि प्रकाश पारे।
यसैगरी, संयोजक मोहन शर्माले विद्यालय र अभिभावकहरूको समन्वय कार्य, विद्या भारती सिक्किम संस्थानद्वारा सञ्चालित शिक्षण संस्थानहरूमा शिक्षाको भूमिका, सम्पर्क, आत्मीयता, जागरूकता आदिबारे जानकारी गराए। बैठकमा सञ्चालन समितिका अध्यक्ष, सचिव खुश्बु दाहाल, सदस्यहरू, प्रशासक टाशी योल्मो, अभिभावकहरू उपस्थित थिए। विद्यालयकी आचार्या लक्ष्मी राईद्वारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालन समितिका अध्यक्ष छुङछुङ भोटियाले धन्यवाद ज्ञापन प्रस्तुत गरेको जानकारी विद्या भारती सिक्किमका प्रान्त प्रचार प्रमुख सूर्य धितालले दिएका छन्।
-हिस









