गान्तोक: राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चाले आज सबै सरकारी विद्यालयका नवौ श्रेणीमा उत्कृष्ट अङ्क हासिल गरेर उतिर्ण हुने विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको निम्ति प्रस्थान गराए। आज उनले राजधानीस्थित जिरो पोइन्टबाट झण्डा हल्लाएर विद्यार्थीहरूलाई एक्सपोजर भ्रमणको निम्ति पठाए। उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिम शिक्षा विभागले विद्यार्थीहरूलाई अध्ययनको निम्ति प्रोत्साहित गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम शुरू गरेको हो। आज अध्ययन भ्रमणको निम्ति प्रस्थान भएका विद्यार्थीहरूले तिमी चिया बगान,चारधाम, राभाङला,पेलिङ लगायत अन्य स्थानहरूको भ्रमण गर्ने भएका छन्। यसरी नै एघार्हौ श्रेणीमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई विभागको खर्चमा कलकत्ता लैजानेछ।कक्षा नवौं र ११औं- का विद्यार्थीहरुलाई एक्सपोजर भ्रमणका लागि राज्य सरकारले ५० लाख रूपियाँ छुट्टाएको छ।









