राजगञ्ज: फुलबारी उच्च विद्यालयका विद्यार्थीहरूले पास गरिदिने माग गर्दै आज पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। तिनीहरू उच्च माध्यमिक परीक्षामा फेल भएका थिए। सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको जटियाकाली मोडको सडक अवरोध गरेर विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरे। विक्षोभकारी विद्यार्थीहरूको भनाइ अनुसार कोरोना परिस्थतिमा हामी सबैले प्रयाक्टिकल बुझाएका थियौँ भने होम सेन्टरमा परीक्षा दिएका थियौँ। आफूहरूले राम्रोसित परीक्षा लेखे तापनि आफूहरूलाई फेल गराइदिएको छ। तथापि, पढ्नमा राम्रो नभएका विद्यार्थीहरूलाई पास गराइदिएको तिनीहरूले आरोप लगाए। यसैले पास गरिदिने माग गर्दै आज आफूहरूद्वारा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरिएको हो। राज्यको प्रत्येक विद्यालयका धेरैजना विद्यार्थीहरूलाई फेल गराइदिएको छ। बोर्डको भूलले गर्दा यस्तो भएको तिनीहरूले आरोप लगाए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर विद्यार्थीहरूसित कुराकानी गरेपछि तिनीहरूले पथ अवरोध हटाएको बताइएको छ।









