विदेशी पर्यटकहरुका‌ लागि खरसाङदेखि मालगाडीको यात्रा

IMG-20260402-WA0112

खरसाङ: दार्जिलिङ पहाडमा कुद्ने धेरै पुरानो दार्जिलिङ हिमालयन रेलवेको मालगाडी बिहीवार खरसाङदेखि दार्जिलिङसम्म चलेको छ। बिहीबार बिहान ९:३० देखि १० बजेको समयमा खरसाङ रेलवे स्टेशनबाट उक्त मालगाडी विदेशी पर्यटकहरुका लागि चलाइएको छ। प्राप्त जानकारी अनुसार यो मालगाडी विशेष रुपमा विदेशी पर्यटकहरुका‌ लागि गत ३० मार्चदेखि चलाइएको थियो। ३० मार्चको दिन सिलगढीदेखि तीनधारेसम्म, ३१ मार्चको दिन तीनधारेदेखि रंगटङ्गसम्म र रंगटङ्गदेखि पुनः तीनधारेसम्म चलाइएको थियो। त्यसरी नै १ अप्रेलको दिन तीनधारेदेखि रंगटङ्गसम्म, २ अप्रेल बिहीबार खरसाङदेखि दार्जिलिङसम्म चलाइएको र ३ अप्रेल शुक्रबारको दिन दार्जिलिङदेखि घुम र घुमदेखि दार्जिलिङसम्म चलाइने जानकारी प्राप्त भएको छ। यसको साथै मालगाडी पुरानो समयमा दार्जिलिङ पहाडमा माल सामानहरुको ओहार पसारमा मुख्य सवारी साधन रहेको थियो। उक्त मालगाडी बिहीवार बिहान खरसाङ रेलवे स्टेशनबाट शुरु गर्दा विदेशी पर्यटकहरुको झुण्डले क्यामरामा कैद गरिरहेको दृश्य देखिएको छ‌। यसको साथै खरसाङ बजारमा स्थानीयहरुले पनि लामो समयपछि अचानक मालगाडी देख्दा खुशी हुँदै मोबाइलमा फोटो र भिडियो क्लिक गर्दै गरेको देखिएको छ।

मालवाहक रेलगाडीको डिब्बा १९४३ र १९४४ सालमा तीनधारेमा‌ बनिएको जानकारी प्राप्त भएको छ। यसको साथै मालगाडीको दुईवटा डिब्बा लिएर आएको वाष्पचालित ईञ्जिन पनि १९२५ सालमा तीनधारेमा बनिएको जानकारी प्राप्त भएको छ। उक्त मालगाडी विशेष रुपमा विदेशी पर्यटकहरुले एक विशेष कामको लागि स्पेसियल चार्टर गरेर चलाइएको जानकारी प्राप्त भएको छ। यो मालगाडी वाष्पचालित ईञ्जिनको साथमा चलाउँदा स्थानीयहरु, देशी र विदेशी पर्यटकहरुको लागि महत्त्वपूर्ण मानिएको छ। वाष्पचालित ईञ्जिन दार्जिलिङ हिमालयन रेलवेको मुख्य अंग हुन् भने देशी र विदेशी पर्यटकहरुको लागि मुख्य आकर्षणको केन्द्र पनि हो।

About Author

Advertisement