गान्तोकः भारतीय जनता पार्टी भाजपाले गरेका विकास र प्राप्त उपलब्धि गन्ती गराउन आयोजन गरेको कार्यक्रम अवधि सिक्किममा संवैधानिक अधिकार र नागरिकहरूको अत्मसम्मान सुनिश्चित गराउनुपर्ने विषय उठेको छ। केन्द्रमा भारतीय जनता पार्टीको सरकार नौ वर्षको पुगेको अवसरमा सोमवार गान्तोकमा केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुवास सरकारको उपस्थितिमा एउटा अन्तरक्रियात्मक कार्यक्रम आयोजित गरिएको थियो। यस समारोहमा भाजपाले वरिष्ठ नागरिकहरूलाई निम्त्याएर उनीहरूबाट विकासबारे चर्चा र सुझाउहरू मागेको थियो। तथापी उपस्थित नागरिकहरू मध्येका साहित्यकार रूद्र पौड्याल, डा. एमपी खरेल, केएन शर्मा, जिग्मा एन काजी, पासाङ शेर्पा लगायत अन्य धेरैले भजपाले सिक्किमेको निम्ति विकास होइन पहिला अधिकार सुरक्षाको पहल गर्नुपर्छ भन्ने आवाज उठाएका छन्।
१९७५ मा सिक्किम भारतमा विलय भएयता लगातार सिक्किमेको सुरक्षामा आँच आउँदै गएको साथै विशेष सुरक्षा कवच धारा ३७१ एफ तरलिकृत भएको जनाउँदै यस्ता विषयमा केन्द्र सरकार गम्भीर बन्नुपर्छ अनि मात्र विकासको कुरा गर्नुपर्छ भन्ने उनीहरूको भनाइ थियो। सिक्किम विधानसभामा लिम्बू तामाङ समुदायको सीट आरक्षण हुन नसक्नु, कम्पनी एक्ट लागू नभएका कारण सिक्किमेले उद्यमिताको क्षेत्रमा भोग्न परेका समस्या, वित्त विधेयक २०२३ ले गैर सिक्किमेको निम्ति सिक्किमा खोलिदिएको बाटो, १२ समूदायको दीर्घलम्बित जनजातिको मुद्दा आदिलाई भाजपाले पहिला सम्बोधन गरेर मात्र सिक्किममा विकासबारे चर्चा गर्न मुनासिब हुने उनीहरूले बताए। नागरिकहरूको पक्षबाट उठेका यी विषयलाई सरकार समक्ष पहल गर्ने शिक्षा राज्यमन्त्री डा. सुवास सरकारले आश्वावासन दिएका छन्। यसरी भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीआर थापाले सहभागी सबैलाई धन्यवाद दिंदै सिक्किमेको पक्षमा उठेका विषयलाई पार्टीको पक्षबाट पनि गम्भीरताका साथ लिइने बताए।
-हिस








