विकाश कुलुङको ‘क्षितिजपारी’ र जयन्ती मुखियाको ‘कोसे ढुङ्गा’ लोकार्पित

n5405646361695492240763214298571b12d22e3b5e962acfac182212c04adaa022dd4afd5ebd277f81c80a.jpg

साहित्य र कला भाषामा आधारित हुँदैन भाषाले व्यक्ताउने माध्यममात्रै होः जुमेली

गान्तोक: सिक्किमबाट साहित्य लेखिरहेका साहित्यकार जयन्ती मुखियाको कथा सङ्ग्रह कोसे ढुङ्गा र युवा कवि विकाश कुलुङको कविता सङ्ग्रह क्षितिजपारी विधिवत रूपमा लोकार्पण गरियो।

अलङ्कार प्रकाशन पश्चिम सिक्किमले बजारमा ल्याएका दुवै पुस्तकको गान्तोकको राङ्कास्थित अभियान साहित्य समिति र प्रकाशन गृहको संयुक्त आयोजनमा राङ्कामा सम्पन्न भयो।

साहित्यकार प्रवीण राई जुमेलीको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रममा मुख्य अतिथिको रूपमा समाजसेवी तथा सरकारी अधिकारी डम्बर बहुदार पौडेल उपस्थित थिए। कार्यक्रममा गान्तोकबाट पुगेका अतिथि कवि, रूम्तेकका अतिथि कवि तथा गजलकार र स्थानीय कविहरूले कविता वाचन गरेका थिए। जसमा बाल कवि वेदांसी शर्मासमेत, कवि मेनुका पौडेल, शिव प्रशाद नेउपाने, जीविका अश्रु, जमुना पौड्याल, हरि भक्त पौडेल, सीपी नेपाल, मन माया शमा र्(प्रश्नोत्तर, आनन्द छेत्री (गजल), मोहन गौतम, निल कमल छेत्री, यम नाथ ढकाल, डा.सुचन प्रधान, प्रवीण खालिङ, कुवेर भट्टराई आभाषले कविता सुनाएका थिए भने ध्रुव पायोङ्गो सुब्बा कथा सुनाएका थिए।

कार्यक्रममा पुस्तक लोकार्पणपछि कवि विकास कुलुङले आफ्नो सम्बोधन राख्दै आफूले कविता लेख्ने यात्रामा निस्किएको र कविताको सिकारू पहल शुरु गरेको बताउँदै पाठकहरूको मायाको अपेक्षा गर्दै निरन्तर साहित्य सिर्जनमा लाग्ने बताए। त्यसैगरि कथाकार जयन्ती मुखियाले आफू शिक्षिका जीवनमा रहदा गरेको तिता मिठा अनुभवलाई कथामा समेटेर प्रकाशित गरेको बताइन्। उनले कथा यात्रामा पाठकको आलोचना स्वीकार्य रहेको बताइन्।

कार्यक्रममा अलङ्कार प्रकाशनका स्वामी मिलन थुलुङले साहित्यकारहरू बाँच्नुपर्छ त्यसको निम्ति किताब किनेर पढिदिनुपर्छ भन्ने पैरवी अघि सार्दै अहिलेसम्म १२ वटा किताब प्रकाशित गरिसकेको र पाठकको माया निरन्तर रहेमा भविष्यमा अझ धेरै व्यावसायिक रूपमा अघि आउने प्रतिबद्धता जाहेर गरे। उनले यी पुस्तकहरूको बजारीकरणलाई ध्यान दिँदै म्याराथन विमोचन कार्यक्रम राखिएको जो नाम्ची जोरथाङ हुँदै अन्य ठाउँहरूमा चल्ने बताए।

मुख्यअतिथि डम्बर बहादुर पौडेलले अलङ्कार प्रकाशन र अभियान साहित्य समितिले गर्दै आएको कार्य सराहनीय रहेका बताए। उनले समाजलाई आफ्नो अवस्था कस्तो छ देखाउनको निम्ति साहित्यकारहरूको आवश्यकता रहेको बताए। उनले साहित्यकार सर्जकहरूको जगेरा गर्न अनिवार्य रहेको तथा यस्ता कार्यले समाजलाई सचेतनाको दिशामा अग्रसर पार्ने बताए। उनले कार्यक्रमको आयोजन राज्यको अर्को भागका सर्जकहरूको पुस्तकलाई लिएर गरिएको भए पनि राङ्कावासीको निम्ति ठूलो भाग्य रहेको बताए।

अध्यक्षीय सम्भाषणको क्रममा साहित्यकार प्रवीण राई जुमेलीले पाठकलाई बोझ बनाउने साहित्य लेखिनु नहुने र साहित्यकारहरूले गुणस्तरलाई प्राथमिकताको आधारमा काम गरेर पाठकसमक्ष आउनुपर्ने धारणा राखे। उनले साहित्य सरल छ भन्ने धारणा राखे पनि साहित्य सजिलै बुझ्न नसकिने बताउँदै क्लिष्ट भाषाको प्रयोगले मात्र होइन सरल भाषैमा पनि साहित्य ढङ्ग नपारि लेखिएमा कठिन हुने बताए।

उनले आलोचकिय दृष्टिलाई अघि सार्दै भाषामा आधारित नभएर भाषा व्यक्त गर्ने माध्यममात्र रहेको बताउँदै पहिले मन मगजमा दुखेको कुरालाई भाषामा रङ्गमा र सङ्गीतमा व्यक्त गरिने गरिन्छ साहित्य, चित्र र संगीत भन्ने धारणा अघि सारे। उनले अहिले आर्टिफिसियल इन्टेलिजेन्सले पनि साहित्य कला र संगीत सिर्जना गर्ने दिशामा काम गरिरहेको हुँदा सर्जकहरूमा अब एआई चाहीँ चुनौती बन्दै गएको अवस्थामा सचेत र एआईले भन्दा फरक सिर्जनामा लागिपर्नुपर्ने मन्तव्य व्यक्त गरे।

कार्यक्रममा चिया कविता सिक्किम, सिर्जनशील साहित्य मञ्च रूम्तेक, अभियान साहित्य समिति र अतिथिगणलाई प्रकाशन गृहले सम्मान जनाएयो भने अभियान साहित्य समितिका महासचिव कुबेर भट्टराईले कार्यक्रमलाई शुरुदेखि अन्तसम्म सञ्चालन गरेका थिए।

About Author

Advertisement