विकसित भारत@२०४७ सन्देश लिएर उत्तर सिक्किममा दुईदिने आईसीओपी सम्पन्न

IMG-20240717-WA0003

गान्तोक: नागरिकसम्म, विशेष गरी दुर्गम तथा अन्तिम किनारमा बसोबास गर्ने समुदायसम्म पुग्ने उद्देश्यका साथ प्रधानमन्त्रीको विकसित भारत@२०४७ दृष्टिकोणलाई प्रवर्द्धन गर्दै पत्र सूचना कार्यालय (पीआईबी) र केन्द्रीय सञ्चार ब्यूरो (सीबीसी), गान्तोकले उत्तर सिक्किमको रिङ्दाङ सिङ्घिकस्थित टिस्टा–खखख जलविद्युत् परियोजना क्षेत्रमा दुईदिने एकीकृत सञ्चार तथा आउटरिच कार्यक्रम (आईसीओपी) सम्पन्न गरेका छन्।
ईपीएफओ गान्तोक कार्यालय र सिक्किम ऊर्जा लिमिटेडको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन दिन (२७ जनवरी) सिक्किम सरकारको सिक्किम कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले दुर्गम मानिने मङ्गन क्षेत्रमा यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा पीआईबी र ईपीएफओ गान्तोकप्रति आभार व्यक्त गरे।
आफ्नो सम्बोधनमा लेप्चाले ४ अक्टोबर २०२३ मा उत्तर सिक्किममा आएको ग्लेशियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) को अनुभव साझा गर्दै दक्षिण ल्होनाक हिमनदी ताल फुट्दा भएको जनधनको क्षति, बाँधहरू भत्किएको अवस्था र टिस्टा नदी किनारमा परेको व्यापक असरबारे चर्चा गरे। उनले टुङ नागा जीपीयू सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै उक्त रात आफ्नै घरजग्गा समेत बगाएको जानकारी गराए। मानवीय लचिलोपनको उदाहरण दिँदै उनले सरकारको पहलमार्फत पुनर्निर्माण प्रक्रिया अघि बढिरहेको बताए।
कार्यक्रमको पहिलो दिन गान्तोकका क्षेत्रीय पीएफ आयुक्त केसाङ एन तेञ्जिङले सामाजिक सुरक्षासम्बन्धी योजनाहरूबारे सत्र सञ्चालन गरे। यसमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना, कर्मचारी नामाङ्कन अभियान २०२५ तथा ईपीएफओको ‘निधि आपके निकट २.०’ कार्यक्रमबारे जानकारी दिइएको थियो।
उद्घाटन दिवसमा क्विज प्रतियोगिता, देशभक्ति गीत प्रतियोगिता र वन्दे मातरम पाठलगायत गतिविधिहरू सम्पन्न भए। साथै, ईपीएफओ गान्तोकद्वारा श्रमिकका लागि शिकायत निवारण सत्रसमेत आयोजना गरिएको थियो।
आईसीओपीको समापन दिवस (२८ जनवरी) मा पीआईबी, ईपीएफओ र सिक्किम ऊर्जा लिमिटेडका कर्मचारी तथा श्रमिकको सहभागितामा स्वच्छता अभियान सञ्चालन गरियो। सो अवसरमा ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वातावरणीय चेतना अभिवृद्धिका लागि रूखको बिरुवा पनि हस्तान्तरण गरियो।
समापन समारोहमा मङ्गनका जिल्लापाल अनन्त जैन प्रमुख अतिथि थिए। उनले कर्मचारी भविष्य निधि ऐनअन्तर्गत श्रमिक दर्ता र उनीहरूको अधिकारबारे जानकारी दिँदै सबै संस्थालाई ऐनको पालना गर्न आग्रह गरे।
कार्यक्रमका विभिन्न प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र स्मृति चिह्न प्रदान गरिएको थियो। आईसीओपीको औपचारिक समापन केसाङ एन तेञ्जिङको धन्यवाद मन्तव्यसँगै सम्पन्न भएको थियो।

About Author

Advertisement