गान्तोक: राज्यका पत्रकारहरूलाई अझ गुणस्तरीय तालिम प्रदान गराउने उद्देश्यले राज्य सरकारद्वारा शुरु गरिएको पहल अन्तर्गत पहिलो चरणमा हालै मिजोरम पुगेर तालिम लिन सफल भएकोमा प्रेस क्लब अफ् सिक्किमले आज एक कार्यक्रम गरेर राज्य सरकारप्रति धन्यवाद दिएको छ। प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष शेखर खवाससँगै ऐजोल पुगेर आएका पत्रकारहरूले आफ्नो अनुभवहरू साझा गरे। पत्रकारितासँग संलग्न मूल विषयहरू सिक्न पाएकोमा उनीहरूले खुशी प्रकट गरे।
योसँगै कार्यक्रममा वरिष्ठहरूमा रहेका अनुभवहरू कनिष्ठहरूमा साझा गर्न साथै कनिष्ठहरूले भोगिरहेका समस्याहरू बुझ्ने कार्य गरियो। यस अवधि प्रेस क्लबका पूर्व अध्यक्ष एवं जर्नलिस्ट युनियनका अध्यक्ष भीम रावत, विजय गुरुङ, राजेन प्रधान आदिले पत्रकारिताको वर्तमान स्थितिबारे आ-आफ्नो मन्तव्य पोखे। सामाजिक सञ्जालको समयमा हर-कोही पत्रकार बन्न खोजिरहेको विषयमाथि ध्यानाकर्षण गराउँदै पत्रकारिता गर्छु भन्नेहरूले पत्रकारिताको साँचो अर्थ बुझ्न आवश्यक रहेको उनीहरूले सुझाउ राखे। योसँगै भाषा शुद्धिकरणमा ध्यान दिनुपर्ने अनि केही गर्छु, सिक्छु भन्ने तृष्णा पत्रकारहरूको कहिल्यै मर्नु हुँदैन भन्ने वक्ताहरूले विचार पोखे। योसँगै अन्य पत्रकारहरूले पनि आ-आफ्नो विचार पोख्दै पत्रकारिताको वर्तमान स्थितिबारे विचार-विमर्श गरे।











