गान्तोक: तुमिन लिङगी निर्वाचन क्षेत्र अन्तर्गत लोवर साम्दुङमा दिगो कृषि र वागवाणीमाथि ध्यान केन्द्रित गर्दै “फ्राइडे फार्म” शिर्षकमा एक कार्यक्रम आयोजना गरियो। हिजो सम्पन्न भएको उक्त कार्यक्रममा सम्वन्धित विभागका मन्त्री पुरण गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनको क्षेत्र विधायक साम्दुप छिरिङ भोटिया लगायत साथमा कृषकवर्ग र स्थानीय समुदायहरू पनि सामेल रहेका थिए। मन्त्री गुरूङले वर्तमान सरकारले कृषकहरूलाई सशक्त र कृषि उत्पादनलाई बढावा दिन सरकार प्रतिवद्ध रहेको बताए। सरकारले कृषि क्षेत्रमा संलग्न मानिसहरूलाई विभिन्न प्रकारको योजना शुरू गरेर उनीहरूलाई आर्थिकरूपमा सबल बनाउने प्रयास गरिरहेको जानकारी गराए। यसै प्रकारले क्षेत्र विधायक भोटियाले यस क्षेत्र कृषिको निम्ति एक नमूना बन्न सक्ने प्रशस्त सम्भावना रहेको बताए। उनले कृषकहरूको कृषि प्रतिको समर्पित भावनालाई सम्मान गर्दै राज्य सरकारले अवश्य पनि विभिन्न माध्यमद्वारा सहयोग पुऱ्याउने आश्वासन दिए।









