कालूसिंह रनपहेंली-
घाम लाग्यो झिलिमिली हेर सुनको डाँड़ा
पानी पर्यो रिमिझिमी इन्द्रेणीको माला।
सात रङ्गे इन्द्रेणीको सातै रङको डोरी,
समातेर डुल्न जाऊँ कि पृथ्वीलाई छोड़ी।
डाँड़ावारि डाँड़ापारि इन्द्रेणीको माला,
लगाई देऊन झट्टै मलाई नत्र हराई जाला।
धरतीदेखि आकाशसम्म फैलिएछ सारा
यसमै चढ़ी टिप्न जाउँ कि घाम जून तारा।
(कविता: इन्द्रेणी, कवि: नरबहादुर दाहाल)
पाठ्यपुस्तकको आकाशबाट यो सुन्दर कविताको इन्द्रेणी टिपेर आफ्नो साहित्य लेखनको मुटुमा प्रेरणाको रङ्ग बनाई धस्ने कति मेधावी विद्यार्थी आज धुरन्धर सर्जक/साहित्यकार बनिसकेका छन्। नेपाली भाषा साहित्यका एक अग्रणी र शिखर व्यक्तित्व हुन् विशिष्ट साहित्यकार नरबहादुर दाहाल। हाम्रो भाषा साहित्यका देवराली हुन् उनी अनि हुन् गौरवका हिमाल। उनी सुकुनाको शिवनगरमा बसेर आफ्ना साहित्य सिर्जनाहरूमा सत्यं-शिवं-सुन्दरं भइरहेका व्यक्तित्व हुन्। यस्ता विशाल व्यक्तित्वका वटवृक्षको सिँयालमा बसेर बात गर्न पाउँदा आज हिमालय दर्पणको यो पृष्ठ भाग्यशाली बनिरहेको छ। त्यसो त सुकुना भन्नेबित्तिकै हामीले सम्झना गरेर गौरव गर्ने अनेक कारणहरू छन् यहाँ। सुकुना बजारको चौकमा उभिरहेका छन् सालिक बनेर आजाद हिन्द फौजका स्वाधीनता सेनानी हाम्रा गौरव कप्तान रामसिंह ठकुरी। हाम्रो सम्झनामा चाँप-गुराँस बनेर फुल्न आउँछन् भाषा साहित्यको क्षेत्रमा सुकुनाको नाम उज्याल्ने अरू उज्याला नामहरू जस्तै स्व. सूर्यकुमार छेत्री, मातृका गजमेर, उर्मिला घिसिङ, राजा पुनियानी, शिबु छेत्री, मेघनाथ छेत्री, देवराज शर्मा, खग गुरागाईं, नवराज छेत्री, मनकुमार खवास, सूर्यमणि शर्मा, ऋतुराज छेत्री आदि। आज हामी छौं साहित्य लेखनमा वसन्त बनेर अनेकानेक कृति-कर्मका फूलहरूको इन्द्रेणी रङ्ग र सुवासना बोकेका व्यक्तित्व नरबहादुर दाहालज्यूसँग। उनलाई जान्न खोज्दा हाम्रो जिज्ञासाको लोकमा घाम लाग्छ- माता स्व. मनमाया दाहाल अनि पिता स्व.जीतबहादुर दाहालका कोखमा 5 सितम्बर सन् १९३७ को दिन कालेबुङमा जन्मेका दाहालज्यूले आफ्नो शिक्षा कालेबुङकै एस.मू.एम.आइ. र कुमुदिनी होम्सबाट लिएका हुन्।
अब हामी कुराकानीको मेसो पक्रन खोज्छौं उनीबाट जानकारीको चक्कीभित्र मार्गदर्शनका औषधिहरू पनि बटुल्दै, ‘हजूरले लेखन कहिलेदेखि शुरू गर्नु भयो अनि पहिलो रचना कुन थियो होला?’ अब फुल्छन् हाम्रो जिज्ञासाको धरतीमा उनको वासन्ती अनुभवका फूलहरू, ‘मैले लेख्न शुरू गरेको सन् १९५० देखि नै हो। अभ्यासिक कालमा धेरै रचनाहरू लेख्दै च्यातेर फालें। यस्ता धेरै रचनाहरू थिए जो छाप्न सङ्कोच लाग्थ्यो। मैले लेखेको पहिलो रचना छात्र अवस्थामा स्टेन्सिल काटेर सन् १९४८ तिर निकालिएको ‘उदगम’ र कालेबुङको अरूणोदय क्लबको हस्तलिखित पत्रिका ‘अरूणोदय’-मा पनि थिए होलान्, तर अहिले सम्झना छैन। मेरो छापिएको पहिलो रचना एउटा गद्य कविता ‘स्मरण’-लाई नै मानेको छु, जो सन् १९५० मा लैनसिंह बाङदेलको ‘प्रभात’ पत्रिकामा वरदान भन्ने छद्मनाममा प्रकाशित भएको थियो। त्यसपछि मेरो नाममा सन् १९५२ मा ‘भारती’-मा ‘मान्छे’ शीर्षक पहिलो कथा छापियो, जो पछि पारसमणि प्रधानको ‘कथा भारती’-मा पनि संकलन गरिएको थियो। त्यसपछि त ‘भारती’ र ‘गोर्खा’मा निरन्तर रचनाहरू प्रकाशित हुनथाले। आनन्दसिंह थापाद्वारा सम्पादित देहरादुनको ‘जाग्रत गोर्खा’-मा अर्को कथा ‘स्मृति’ प्रकाशित भयो। त्यस दशकमा ‘भारती’-मा ‘आत्मदान’, ‘सम्झना’, ‘शरदचन्द्र’ , ‘मृत्युसित’, ‘अभिलाषा’, ‘प्रश्न’, ‘आँखा’, ‘चिन्ता’, ‘घाऊ दिलको बिर्सन्छु’ आदि कविताहरू छापिँदै गए। गद्य लेखहरूमा ‘लोकगीत’, ‘नेपाली भाषामा प्रगतिशील साहित्य’, ‘साहित्यिक सफलता’, ‘आधुनिक नेपाली काव्य साहित्य’ आदि प्रकाशित भए। त्यस बेला साहित्य महारथी पारसमणि प्रधानको सम्पादनमा प्रकाशित ‘भारती’ नै सबैभन्दा उच्चकोटिको पत्रिका मानिन्थ्यो। यसमा रचना छापिनु एउटा प्रतिष्ठाको कुरा पनि थियो। भारती बाहेक त्यस बेला रामकृष्ण शर्माको सम्पादनमा छापिने ‘गोर्खा’, ठाकुर चन्दन सिंहको सम्पादनमा देहरादुनबाट निस्कने ‘स्वतन्त्र नेपाली’, आसामको ‘उषा’ ‘प्रभात’ र ‘बिन्दु’, बनारसको ‘उदय’ र ‘दिपक’, दार्जीलिङको ‘दीयो’, ‘दियालो’, शिलाङको ‘मादल’ र कालेबुङको ‘संकेत’, ‘चरित्र’, र ‘माया’, डुवर्सको ‘अवलोकन’ आदिमा अनेकौं रचनाहरू प्रकाशित भए। कति नेपालभित्रका ‘मधुपर्क’, ‘धरती’, ‘समकालीन साहित्य’, ‘पारिजात’ आदि पत्रिकामा पनि छापिएका छन्। अझ नेपाली भाषामा दैनिक पत्रिका प्रकाशित हुन थालेपछि ‘हिमालचुली’, ‘हिमाली आभा’, ‘सुनचरी’, ‘सुनाखरी’, ‘हिम कस्तुरी’, ‘हाम्रो प्रजाशक्ति’, ‘हाम्रो पहाड़’, ‘हिमालय दर्पण’आदिमा असङ्ख्य रचनाहरू छापिएका छन्। यी रचनाहरू सबै मेरा वास्तविक नाममा छन्। त्यसपछि साहित्यमा आफ्नो एउटा चिनारी कामय भएकोले मैले छद्मनाम कहिले प्रयोग गरिन।’
‘नरबहादुर दाहाल भनेका हामीलाई लेख्न सिक्नलाई उक्लने एउटा सिंड़ी हुन्। उनले एउटा लामो अवधिदेखि नै कलमको काँटाद्वारा अक्षरहरू रोपेर हाम्रो साहित्यबाटिकामा सुन्दर फूलहरू फुलाउँदै आएका हुन्। हाम्रो जिज्ञासाको बोटमा एउटा प्रश्न कोपिलाइरहेको छ, उहाँले लेख्न शुरू गर्दा त्यसबेलाको साहित्यिक वातावरण कस्तो थियो होला भन्ने! के हामी हजूरकै वाणीको वीणामा यो अनुभवको झंकार सुन्न सक्छौं?’ अब बज्छ उत्तरको वीणा उनको, ‘कालेबुङमा मैले साहित्यमा प्रवेश गर्नअघि प्रकाशित पत्र पत्रिकाहरूमा केही नामहरू देखिन्छन्। यस्ता नामहरूमध्ये केही नामहरूमा सफल लेखकहरूको लक्षण देखिन्छ। ती नामहरूमा केही नामहरू हुन्- कृष्णदास प्रधान, शेषमणि प्रधान, कुमुदिनी शर्मा इत्यादि। त्यसपछि नरेन्द्रप्रसाद कुमाई र उनका साथीहरू लाह छिरिङ, मणिकुमार गुरूङ आदि सहायक असहायक दल लिएर आए। उनीहरूले ‘पूकार’ नामक साहित्यिक पत्रिका पनि प्रकाशित गरेका थिए। त्यसपछि कालेबुङमा एउटा स्टडी सर्कल खोलियो। त्यसमा मनमोहन राई, दिवाकर सुब्बा, अरूण कार्कीढोली, देवकुमारी राई आदिले साहित्यका विभिन्न विधामा संगोष्ठीहरू आयोजन गरे। त्यसपछि नेपाली साहित्य प्रसार परिषद स्थापित भयो। जसका अध्यक्ष रूद्रमणि प्रधान र सचिव भाइचन्द प्रधान थिए। यस संस्थाले कथा प्रतियोगिताहरू आयोजन गर्थ्यो। एउटा कथा संग्रह ‘षट्दल’ निकाल्यो जसमा भारतका दुइजना र नेपालका चारजना कथाकारहरूलाई लिइएको थियो।’
हाम्रा हातको आकाशमा जिज्ञासाका प्रशस्त बादलहरू छन् जसले तानेर ल्याउन चाहन्छौं दाहाल सरका शीतल उत्तरको वर्षा। ‘यहाँको लेखनका विधाहरूबारे पनि जान्न पाऊँ। कविता लेखनमा लागि पर्नु हुँदा समकालीन सर्जकहरू को को थिए होलान्?’ अब बर्सन्छ सम्झनाको बादलबाट उत्तरको झरी, ‘मैले कविताबाट साहित्यमा प्रवेश गरें केही कथाहरू र उपन्यास पनि लेखें। तर सबैभन्दा धेरै लेख निबन्ध र संस्मरणहरू लेखें। यस्ता लेखहरूमा जीवनी, नियात्रा संस्मरणहरू पनि छन्। त्यस बेलाका कविता लेखनमा लागेकाहरूमा मुख्य रूपले अगमसिंह गिरी, हरिभक्त कटुवाल, जीवन थिङ, मनबहादुर गुरूङ, ईश्वर बल्लभ, बैरागी काईंला, भीम थापा, नगेन्द्र प्रधान ‘अज्ञात’, बिक्रम रूपासा, जी.छिरिङ, सानुमती राई, लोकेशचन्द प्रधान, सावित्री सिंह, विनिता सिंह आदि थिए। अन्य विधाका सहधर्मी मित्रहरू इन्द्रबहादुर राई, प्रेम थापा, वीरविक्रम गुरूङ आदि सबै समकालीन हुन्। लगत्तै पछि आउने डा. जस योञ्जन ‘प्यासी’, गोपीनारायण प्रधान, गुमानसिंह चामलिङ, मनप्रसाद सुब्बा, बिन्द्या सुब्बा, आर.पी. लामा आदि सबैलाई समकालीन भन्दा हुन्छ। अरू पनि धेरै छन्। सबैको नाम दिएर साध्य हुॅदैन, क्षमा चाहन्छु।’
‘कवि नरबहादुर दाहाललाई हामी रोमान्सेली कविता लेखन धाराका आधारकै एक बलियो कलम भनेर चिन्ने गर्छौं। यो रोमान्सेली लेखन के हो र यसतिर यहाँको झुकाउबारे केही जान्न पाउने हाम्रो लोभको पाल पनि हृदयमा टाँगिराखेका छौं।’ प्रश्नको पालभित्र दाहालज्यूको भव्य उपस्थिति प्रत्युत्तरका बुँदाहरूसित, ‘रोमान्सेली कविता भनेको प्रणय भावना प्रधान कविता हो। यसलाई शृंगार रसका कविता पनि भन्ने गरिएको छ। राधा कृष्णको प्रेम भारतीय संस्कृतिको एउटा अङ्ग भइसकेको छ। भारतीय साहित्यमा राधा कृष्णको प्रेम प्रसङ्गलाई लिएर अनेकौं प्रेम कविता लेखिएका छन्। ती सबै कालजयी पनि भएका छन्। बाह्रौं शताब्दीमा बंगलामा लेखिएको कवि जयदेवको ‘गीत गोविन्द’ यस्तै एउटा अमरकृति हो। प्रारम्भिक कालीन नेपाली साहित्यमा ‘गीतगोविन्द’-को ठूलो प्रभाव देखिन्छ। नेपालमा वसन्त पञ्चमीका अवसरमा राजाहरूले वसन्त सुन्ने प्रथा थियो। यो प्रथा नेपालका नेवार राजाहरूको पालादेखि चलेको हो। यसमा जयदेवको गीतगोविन्दकै गीतहरू गाइन्छन्। यसबाट नेपालमा जयदेव कति लोकप्रिय रहेछन्, त्यसको अनुमान हुन्छ। यिनका गान नेपालमा स्त्री पुरूष सबैले घर-घर गाउँछन् भनेर इतिहासकार सूर्यविक्रम ज्ञवालीले पनि लेख्नुभएको छ। नेपालको वीर पुस्तकालयमा लगभग पन्द्रहवटा जति गीतगोविन्दको हस्तलिपि देखेको छु। योबाहेक मैथिलीका कवि विद्यापतिको पदावलीमा राधा कृष्णकै प्रेम प्रसङ्ग पाइन्छ। नेपालीमा भएका ‘कृष्णचरित्र’ पनि यसै परम्पराको एउटा नमूना हो। यसका अतिरिक्त नेपालका धेरै कविहरूको काव्य सङ्ग्रह ‘सूक्ति सिन्धु’ पनि शृंगार रसका कविताहरूको एउटा बेजोड़ नमूना हो। जो आज ऐतिहासिक भएको छ। त्यस बेला कति कविहरूले यसलाई अश्लील कविता पनि भनेका थिए। तर सूक्ति सिन्धुका शृंगार रसका कविताहरू नेपालमा व्यापक प्रचार भयो। राणाकालीन नेपालमा यसको जनप्रियताले यस कृतिमा प्रतिबन्ध पनि लगाइएको थियो। मैले नेपालीमा सबैभन्दा पहिले घरमा भानुभक्तकै रामायण सुनें। भानुभक्तको रामायण शृंगार रस प्राधान्य कृति थिएन। यसमा रामको आदर्श चरित्र र मर्यादाका कुराहरू बढ्ता थिए। घरमा कृष्णचरित्र पनि थियो। तर अधिक पाठ भानुभक्तको रामायण नै हुन्थ्यो। केहीपछि त्यस बेलाका युवा कवि नरेन्द्रप्रसाद कुमाईका प्रेम कविता पनि पढने अवसर पाएँ। उनको निधनपछि खण्डकाव्य ‘रोदन’ निकै ढिलो छापियो। उनी एकजना प्रेमवियोगी कवि हुन् भनेर उनकी प्रेमिकाको खोजी पनि हुनथाल्यो। यो थाह पाउन धेरै समय लाग्यो। तर उनको त्यस बेलाका प्रेम कविताहरूले धेरै युवा कविहरूलाई प्रभावित पार्दै लगेका हुन्। प्रेम अमर हुन्छ, यसैले प्रेम-कविताहरू पनि अमर हुन्छन्। प्रत्येक युगमा प्रेम जन्मन्छ, मिलन बिछोड़ हुन्छन्। यसैले मिलन बिछोडका प्रेम कविताहरू पनि सदा जीवन्त रहन्छन्।’
‘यहाँले भाषा साहित्यमा आएका कति प्रयोगहरू आफ्नै अनुभवका हातहरूले छामेेर हेर्नुभएको छ। आयामिक लेखन यहाँको विचारमा कति सफल र कति असफल काव्यिक आन्दोलन लाग्छ?’ अब फुल्छन् उनको अनुभवको चट्टानमा उम्रिएको उत्तरको सुनाखरी, ‘आयामिक साहित्यको प्रसव पूर्व दार्जीलिङमा स्वच्छन्दतावादी कविताको स्वर्णकाल थियो। साहित्यमा कविता लेख्नेहरूको संख्या अधिक थियो। यसैले कवि धरणीधर शर्माले लेख्नु भयो- ‘नेपाली ठिटो नेपाली ठीटो कविता कविता भनि उफ्रि उठ्यो।’ त्यसै बेला दार्जीलिङ सरकारी कलेजबाट तीन वर्ष जति प्राध्यापन गरेर फर्केका ईश्वर बराललाई काठमाडौंमा दार्जीलिङको साहित्यिक गतिविधिबारे सोद्धा उहाँले भन्नुभएको थियो अरे- ‘दार्जीलिङमा त सबै कवि नै कवि। पुलिस कवि, डाइभर, चौकीदार, शिक्षक सबै कवि। दार्जीलिङको चोक बजारको भीड़मा एउटा चारतले बिल्डिङबाट एउटा कागजको टुक्रा खस्यो भने एउटा कविकै टाउकामा खस्छ अनि कागज टिपेर के रहेछ भनेर हेर्यो भने त्यो पनि कविता नै हुन्छ। यो थियो, आयामिक साहित्यको प्रसव पूर्वको दार्जीलिङको नेपाली साहित्यको अवस्था। त्यस बेलाको नेपाली कविता सरल, सुललित, लयबद्ध हुन्थे। यसै समय ईश्वर वल्लभको कोठे गोष्ठी प्रतिष्ठानमा कविता वाचन हुनुथाल्यो। यसरी वाचन गरिएका कविताहरू वल्लभकै सम्पादनमा ‘फूल पात पतकर’ कविता प्रधान पत्रिकामा प्रकाशित हुनथाले। त्यसपछि सन् 1963 देखि तिलविक्रम नेवाङ्गको सम्पादनमा ‘तेस्रो आमाम’-को प्रकाशन सँगसँगै आयामिक लेखनको सूत्रपात भयो। आयामिक साहित्य दुर्बोध्यताको कारणले जनमानसको हृदयदेखि टाढ़ो हुँदै गयो। यो कतिको निम्ति रुचिकर र कतिको निम्ति अरुचिकर भयो। रुचाउनेहरू यसैका अनुगामी भए। दुर्बोध्य कविताको बाढ़ी आयो। दुर्बोध्यताको आड़मा अर्थहीन कविताहरू लेखिन थाले। सबै कविताहरू अर्थहीन थिएनन् अनि सबै अर्थपूर्ण पनि थिएन। आयामिक कविता बौद्धिकवर्गमा सीमित रह्यो। कविताजस्तो सम्वेदनशील बिषय नीरस, शुष्क हुँदै गयो। जुन-जुन कविता दुर्बोध्यतामा पनि अर्थपूर्ण थिए तिनीहरू बाँचेका छन् तर जे जति अर्थहीन थिए, सबै हराएर गए। मैले मेरै कालमा जन्मिएको आयामिक साहित्यको कहिले विरोध गरिन। यो कुरा ‘हस्तक्षेप’-सितको अन्तर्वार्तामा बैरागी काईंलाले पनि स्वीकार गर्नुभएको छ। तर मेरो विचारमा कविता एउटा संवेदनशील विधा हो। यो हृदयले लेखिनुपर्छ। दर्शनशास्त्र, अर्थशास्त्र, इतिहास जस्ता मस्तिष्कले लेखिने बौद्धिक बिचारहरूको बोझ कवितालाई बोकाउनु हुँदैन। यसरी हेर्दा आयामिक साहित्य थोरै मात्रामा सफल र धेरै मात्रामा असफल भएको छ।’
‘पुस्तक प्रकाशन र बिक्री बितरणबारे हजूरको अनुभवको ढोकालाई पनि खोलेर हामी चिहाउन चाहन्छौं।’ खोलिदिन्छन् उत्तरको ढोका उनी, ‘नेपाली पुस्तक प्रकाशन र बिक्री वितरण आजको एउटा प्रमुख समस्या भएको छ। अघिअघिको तुलनामा भारतमा नेपाली पुस्तकका प्रकाशकहरू धेरै भए पनि आज धेरै लेखक कविहरूले आफैंले पुस्तक छापेका देखिन्छन्। उनीहरूलाई पुस्तक बिक्री वितरणको उति ज्ञान हुँदैन। यसैले पुस्तकको लागत खर्च पनि उठ्दैन। धेरै पुस्तकहरू सित्थैंमा बाँड़ेर सिद्धिन्छ। मेरो कथा सङ्ग्रह ‘वर पीपल’ सन् १९६०-मा गोरूबथानबाट ‘नवयुग नेपाली पुस्तक मन्दिर’-ले प्रकाशित गरेको हो। त्यसबेला आजजस्तो पुस्तक पत्र-पत्रिका मुद्रणको सुविधा थिएन। लेटर प्रेसमा छाप्नुपर्थ्यो। यहाँ भएका प्रेस थोरै र महँगा थिए। यसैले सस्तोको लागि बनारस पठाउनु पर्थ्यो। अनेपाली कम्पोजिटरहरूले धेरै भूल गर्थे। तर पनि त्यसबेला अरू कुनै उपाय थिएन। हायमनदास राईले पत्र पत्रिकामा छापिएका मेरा कथाहरू पढ़ेर मलाई पुस्तकाकारमा छाप्ने प्रस्ताव पठाउनु भयो। मैले सहर्ष स्वीकार गरें। पुस्तक छापिएर बनारसबाट आएपछि मलाई गोरूबथान बोलाउनु भयो। हायमनदास राईज्यूले भन्नुभयो- ‘लौ दाहालजी, तपाईर्ंको पुस्तक छापिएर आइपुग्यो। एक हजार प्रति छाप्यौं। तपाईर्ंको पारिश्रमिक एक सय प्रति लैजानु होस्।’ कुनै लेखापढ़ीबिना मेरो कथा संग्रह ‘नवयुग नेपाली पुस्तक मन्दिर’-ले एक हजार प्रति छापेर मलाई एक सय प्रति लेखकको अङ्श दिइयो। ‘उदय’-का सम्पादक काशीबहादुर श्रेष्ठले प्रुफ हेरिदिनु भएकोले पुस्तकमा भूल पनि थिएन। एक वर्ष जतिमा पुस्तक बिक्री भएर सिद्धियो, यो थियो 58 बर्ष अघिको कुरा। त्यस बेला प्रकाशक नपाएर इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यास ‘अञ्जली’ पत्रिकामा धारावाहिक छापिइरहेको थियो, पछि यो पनि नवयुग नेपाली पुस्तक मन्दिरबाट नै पुस्तकाकारमा छापियो।’
‘कालेबुङ छँदा यहाँ साहित्य महारथी पारसमणि प्रधानको सान्निध्यमा हुनुहुन्थ्यो भन्ने सुनेका थियौं। उहाँसितको संस्मरण पनि सुन्न पाऊँ!’ हाम्रो लोभको थुन्से उनको अघिपट्टि राखिदिन्छौं भरिनलाई। भरिन्छ पनि त्यो उनको जीवनका इन्द्रेणी अनुभूतिहरूले,‘पारसमणि प्रधानले सन् १९४९-मा दार्जीलिङबाट ‘भारती’ मासिक पत्रिका प्रकाशित गर्नु भयो। यो पत्रिका अत्यन्त सुन्दर साजसज्जामा निस्केको त्यस समयको उच्चकोटीको पत्रिका थियो। यसका लेखकहरू सबै विशिष्ट र स्तरीय थिए। यसबाट धेरै लेखकहरूले भाषा र साहित्यको सेवा गर्ने प्रेरणा प्राप्त गरे। ‘भारती’ नौ वर्ष अविछिन्न चलेर बन्द भयो। भारती बन्द भएपछि उहाँ कालेबुङ आएर मणि प्रिटिङ वर्क्समा बस्नु भयो। यो प्रेस मेरो घरको नगिचै थियो। यसरी म उहाँको सान्निध्यमा आएँ। यसअघि ‘भारती’-मा मेरा लगभग १५ वटा जति गद्य र पद्य छापिई सकेकाले हामीबीच उमेरको अन्तराल भए पनि लेखनको नाताले सहधर्मी थियौं। सन् १९६० देखि सन् १९८६ सम्म म उहाँको जीवनकालभरि सानिध्यमा रहें। म प्रायः दिनहुँजसो उहाँलाई भेट्न जान्थें। त्यसअघि दार्जीलिङबाट सन् १९४९ देखि ‘भारती’ निस्कँदा मेरो उमेर १२ पुगेको थियो। सन् १९५३ मा ‘भारती’-मा मेरो कथा ‘मान्छे’ छापियो। यो भारतीमा छापिएको मेरो पहिलो रचना थियो। यसरी ‘भारती’-मा मेरा केही रचनाहरू छापिएपछि पारसमणि प्रधानले दार्जीलिङका मेरा साथीहरूसित ‘यो नरबहादुर दाहाल भन्ने भारतीको लेखक युवक हो कि बूढ़ो हो? एकपल्ट यहाँ लिएर आऊ’, भनेकाले दार्जीलिङ गएको बेला अगमसिंह गिरीले मलाई लिएर गएका थिए। सन् १९५५ तिर त्यस दिन गिरी, वीरविक्रम गुरूङ र म पारसमणि प्रधानलाई भेट्न गएका थियौं।’
‘माननीय नरबहादुर दाहाल महोदयको जीवन धेरै भ्रमणहरूसित जोड़िएको हामी पाउँछौं अनि त्यसबाट रोचक संस्मरणका फलहरू फलेका पनि छन्। यहाँ एक समय आसाम पनि पुग्नुभयो। यहाँको आसाम प्रसङ्ग पनि जान्न हामी काकाकुल बनेका छौं।’ सम्झनामा पुग्छन् उनी आसाम र हामी सुन्न पाउँछौं उनको आसाम अनुभूति, ‘म कालेबुङमा सन् १९८० को दशकमा राजनैतिक, साहित्यिक र सामाजिक काममा ज्यादै व्यस्त रहें। त्यसबेला एकै समयमा २४ वटा संस्था सङ्गठनहरूका विभिन्न पदमा म कार्यरत थिएँ। म कालेबुङको सिनेमा कर्मचारी युनियन, पोष्टल कर्मचारी युनियन र संगीत कला निकेतनको अध्यक्ष थिएँ। हिन्दू धर्म सभाको सचिव थिएँ। गोर्खालीग, नेपाली साहित्य अध्ययन समिति आदिमा थिएँ। कला साहित्य, संस्कृतिको बाहिरबाट आउनेहरूको कार्यक्रम अयोजना गरिदिनु पर्थ्यो। भानु जयन्ती लगायत विभिन्न जयन्ती आयोजन गर्नुपर्थ्यो। यस्तै अवैतनिक कामहरूले आर्थिक समस्या पनि पर्यो। त्यस बेला मैले जानेको फिल्म वितरणको काम थियो। त्यसै बेला कालेबुङका भाइहरू तुलसी घिमिरे र शम्भु प्रधानले नेपाली फिल्महरू बनाइरहनु भएको थियो। मलाई आसाम लगायत पूर्वोत्तर भारतको भौगोलिक ज्ञान पनि थियो। यही नेपाली फिल्म वितरणको गौहाटीमा अफिस राखेर १८ वर्ष त्यहाँ बसें। यस अवधिमा ४९ वटा नेपाली फिल्म आसाम, मेघालय, मणिपुर, अरूणाचल आदि स्थानहरूतिर वितरण कार्य गरेको थिएँ।’
‘हजूरको सान्निध्यमा भएका अर्का साहित्य महारथी रामकृष्ण शर्माबारे केही जानकारी पाउने हाम्रो लोभको ढुङ्ग्रो पनि बोकेरै आएका छौं।’ भरिदिन्छन् उनी, यो ढुङ्ग्रो पनि उनको रमाइलो संस्मरणको मीठो महीले, ‘म्यान्मारको मेम्योमा १५ मई सन् १९२२ मा जन्मेर ७ वर्षको उमेरमा आफ्ना माता-पितासित कालेबुङ आई बसोबास गर्ने रामकृष्ण शर्माको सम्पूर्ण जीवन कालेबुङमै बित्यो। उनले प्रारम्भिक शिक्षा कालेबुङको एस.यू.एम.आई.-बाट हासिल गरी यहीँबाट सन् १९४० मा दार्जीलिङ जिल्ला भरिमा प्रथम भई प्रवेशिका परीक्षा उत्तीर्ण गरे। स्कूलको त्यस वर्षको प्रतिष्ठित ‘लिट्टन डक्स प्राइज’ पनि उनैले हासिल गरे अनि आई.ए. र बी.ए. कलकत्ताबाट प्रथम श्रेणीमा पास गरे। कानूनका प्रारम्भिक परीक्षामा पनि कलकत्ताबाट उत्तीर्ण भए तर हिन्दू मुस्लिमको दङ्गाले अन्तिम परीक्षा गौहाटीमा दिनुपर्यो। यसरी उनले गौहाटीबाट प्रथम श्रेणीमा एल.एल.बी. गरे। उनी सानैदेखि पढ्नमा मेधावी थिए। स्कूल र कलेजमा उनले अनेकौं पुरस्कार जितेका थिए र छात्रवृत्ति पाएका थिए। रामकृष्ण शर्मा राजनीतिमा डम्बरसिंह गुरूङलाई आदर्श मान्थे। उनका शैक्षिक गुरु रणधीर सुब्बा थिए भने कानूनी पेशाको अभ्यासिक कालमा रूपनारायण सिंहको अधीनमा एक वर्ष बसेर अभ्यास गरेका थिए। यतिमात्र होइन साहित्यमा पनि उनी रूपनारायण सिंहलाई विशिष्ट स्थान दिन्थे। साहित्यमा उनलाई सन् १९४२ मा काठमाडौंबाट प्रकाशित ‘शारदा’-मा छापिएको उनको लेख ‘अंग्रेजी साहित्यको प्रभाव’-ले प्रसिद्धि दिलायो। यस लेखमा देवकोटा र बालकृष्ण समका कविताहरूमा अंग्रेजी साहित्यका कतिपय प्रसिद्ध अंग्रेजी कविहरूको प्रभाव परेको लक्ष्य गरिएको थियो। त्यस बेला उनको उमेर २० वर्ष मात्र पुगेको थियो। यति कलिलो उमेरको केटाले त्यसबेला देवकोटा र बालकृष्ण समजस्ता विशिष्ट लेखकहरूको कृतिहरूको आलोचना गर्नु एउटा धृष्टता नै थियो। एकातिर यो लेखले देवकोटा रिसाएर यसको जवाफ पनि लेखे भने अर्कातिर रामकृष्ण शर्मालाई यही लेखले एकजना सफल समालोचक हुने सङ्केत पनि दियो। पछि गएर उनी नेपाली साहित्यका एकजना अग्रपङ्क्तिका समालोचक पनि भए। रामकृष्ण शर्मा, एकलव्यको गुरू परम्परामा मेरा साहित्यिक गुरु हुनुहुन्थ्यो। द्रोणले एकलव्यलाई जस्तै मेरो शिष्यत्वलाई उहाँले पनि स्वीकार गर्नु भएन। तै पनि मैले उहाँको आदर्शलाई अघि राखेर गुरुसमान दर्जा दिएको छु। उहाँले भन्नु हुन्थ्यो, ‘मैले आजसम्म दीक्षा लिएर कसैलाई गुरु मानेको छैन। त्यस्तै कसैलाई शिष्य बनाएको पनि छैन।’ यसैले मैले यो बिषयलाई अरू अघि बढ़ाइनँ तर आजीवन म उनको प्रिय रहें, उनी मेरा श्रद्धेय रहे। उनीबाट जीवनमा धेरै कुरा सिकें। स्वाभिमान, अनुशासन र जातीय अभिमान सिकें। राम्रो बोल्नु र लेख्नु सिकें। आफ्नो सिद्धान्तमा अटल भएर बस्न सिकें। उहाँले सधैॅ भन्नुहुन्थ्यो, मैले रणधीर सुब्बाबाट ‘नो’ भन्न सिकें । ‘यस’ मीठो सुनिन्छ तर ‘नो’ भन्न सक्नेले नै जीवनमा सफलता हासिल गर्नसक्छ। उहाँको भनाइमा मानिस स्पष्टवादी हुनुपर्छ। व्यवहारमा लोलोपोतो राम्रो हुॅदैन। हुनसक्ने र गर्नसक्ने काममात्र हुन्छ भन्नू तर नसक्ने काम समयमै हुँदैन भन्नू, उसले अरूतिरबाट गराउँछ भन्ने रामकृष्ण शर्माको बिचार थियो। रामकृष्ण शर्मासित म कतिपय ठाउँमा सँगसँंगै यात्रा गरें। यस्ता यात्राहरूमा सन् १९५७ को काठमाडौं यात्रा अविस्मरणीय छ। यस यात्रामा हामीले नेपाली साहित्यका धेरै विभूतिहरूसित भेट गर्यौं। यसरी भेटेकाहरूमा इतिहासशिरोमणि बाबुराम आचार्य, कविशिरोमणि लेखनाथ पौड़्याल, राममणि आचार्य दीक्षित, केदारमणि आ.दी, ऋद्धिबहादुर मल्ल, केशर शमसेर, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, कमल दीक्षित, बासुदेव लुईटेल आदि उल्लेखनीय छन्। विजय मल्ल, गोविन्द ‘गोठाले’, केदारमान ‘व्यथित’, जनकलाल शर्मा आदि त पहिलेदेखिकै परिचित थिए। त्यसबेला देवकोटा र माधवप्रसाद घिमिरे अफ्रो एशियाली लेखक सम्मेलनमा नेपाल बाहिर जानु भएकोले भेट हुन सकेन। उहाँसितका यस्ता संस्मरण असंख्य छन्।’
कवि नरबहादुर दाहालका कति रचनाहरू नेपाली पाठ्यपुस्तकहरूमा परेका छन् त्यस बारेमा पनि जान्ने जिज्ञासा राखेपछि खोलिन्छन् उनी उत्तरको पृष्ठ, ‘मेरो एउटा कविता ‘पतझड़’ धेरै वर्ष नवौं र दशौं श्रेणीको पाठ्यक्रममा रहेको थियो । यो नेपाली प्रथम पत्र लिनेहरूले पढ़नुपर्थ्यो। अहिले दोस्रो पत्र नेपाली लिनेले पढ़्नुपर्छ। योबाहेक प्राथमिक कक्षामा पढ़्नुपर्ने बाल कविता ‘इन्द्रेणी’ धेरै वर्षदेखि पढ़ाइँदैछ। सरकारी पाठ्यपुस्तकबाहेक ९ वटा निजी प्रकाशनहरूले यस कवितालाई अनुमतिबिनै पुस्तकमा हालेर चलाउँदैछन्। आसामको बोर्डले छापेको माध्यमिकको पाठ्यपुस्तकमा पनि एउटा निबन्ध ‘बोकै बोका भएको गाउँमा’ परेको छ। यीबाहेक ‘भोलिको संसार’, ‘निर्झर’, ‘हात’ आदि सबै पाठ्यपुस्तकहरूमा परेका रचनाहरू हुन्।’
विशिष्ट साहित्यकार दाहालबाट साहित्यिक भ्रमणका कुराहरू पनि सुन्न पाउँछौं केही। उनले साहित्य अकादमीको अनुदानमा सन्1983मा देहरादुन, भाग्सू लगायत उत्तर प्रदेशका पहाड़ी इलाका, शिमला, मसुरी, नैनिताल आदि ठाउँहरूको भ्रमण गरेका थिए। भ्रमणका बिषयहरू थिए- ‘नेपालीमा युद्ध सम्बन्धी साहित्यको खोजी’, ‘भारतको स्वतन्त्रता संग्राममा गोर्खाहरूको योगदान र गोर्खा स्वतन्त्रता संग्रामीहरूसित भेट’, ‘पश्चिमाञ्चलको नेपाली भाषा र साहित्यको अध्ययन।’ यसै समय उनले शहीद दुर्गा मल्लकी धर्मपत्नी शारदा मल्ल र शहीद दलबहादुर थापाकी धर्मपत्नी चम्पावती थापासँग भाग्सूमा उनले भेट गरेका थिए साथै लगभग २०० जना आजाद हिन्द फौजका गोर्खा सिपाहीहरूसँग भाग्सूको गोरखा भवनमा ‘आजाद हिन्द फौजको योगदान’-बारे अन्तरक्रिया कार्यक्रम गरेका थिए। लोक साहित्यका अमर साधक मित्रसेन थापाको घर भाग्सूको तोतारानी गाँउमा उहाँकी श्रीमती लाजवन्ती देवीसित पनि उनको भेट भयो अनि उहाँको ऐतिहासिक घरको परिदर्शन पनि गरे। यस भेटघाटमा उनका साथमा थिए ओमकार सिंह भण्डारी र मगन ‘पथिक’ पनि। भाग्सूका नेपाली, हिन्दी, उर्दूका लेखक मगन ‘पथिक’-सित उहाँकै वासस्थानमा एक हप्ता बसोबासो गरेर पश्चिमाञ्चलको नेपाली भाषा र साहित्यबारे विचार विमषर्र् गरेका थिए। उनको अर्को स्मरणीय भेटघाट भएको थियो महावीर चक्रले अलङ्कृत बिग्रेडियर शेरजंग थापा ‘हिरो अफ चुसुल’-सित उहाँकै बासस्थानमा। यस भेटमा पनि साथमा थिए साहित्यकार मगन ‘पथिक’ नै। उहाँसित नेपालीमा युद्ध सम्बन्धी साहित्यमाथि चर्चा गरे। श्री थापाले चुसुल युद्धको सबिस्तार वर्णन गर्दै हिन्दीमा लेख्नुभएको डायरीको पाण्डुलिपि देखाउनु भएको कुरो साहित्यकार दाहालको मनमा अमेट स्मृति बनेर रहेको छ। फर्केर आएपछि ‘नेपालीहरूको तीर्थ भाग्सू’ लेख उनले सुनचरीमा प्रकाशित गरेका थिए। उनले भारत र नेपालका साहित्यिक सेमिनार, कार्यशाला, संगोष्ठी, कवि समेलनहरूमा सहभागिता जनाएका तथा १२ वटा कायर्र्पत्र प्रस्तुत गरेका कुरा उत्साहसित बताउँछन्।
धेरै योगदानहरूको फूल फुलाउँदै आएका विशिष्ट साहित्यकार दाहाललाई समाज र विभिन्न सङ्घ संस्थाहरूले पनि अनुगृहितता जनाउँदै विभिन्न पुरस्कार, सम्मान र अभिनन्दनहरूले अलङ्कृत र सुशोभित गरेका छन्। उनले पाएका पुरस्कार र सम्मानहरूमा विशेष- पारसमणि पुरस्कार (कालेबुङ) २००२, आशारानी निर्माण पुरस्कार (गान्तोक) २००२, पद्मप्रसाद ढुँगाना पुरस्कार (गौहाटी)२००३ , मदन स्मारक ब्याख्यानमाला पुरस्कार (वाराणसी)-२०१०, बद्रीनारायण प्रधान स्मृति पुरस्कार (बाग्राकोट)-२०१४, नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार (काठमाडौं) २०१४, अगमसिंह गिरी पुरस्कार (दार्जीलिङ) २०१४, मोती प्रतिभा पुस्कार (नेपाल)-२०१५, योगी नरहरीनाथ अन्तर्राष्ट्रिय पुरस्कार (नेपाल) २०१५, रामचन्द्र गिरी स्मृति पुरस्कार (दार्जीलिङ) २०१८ आदि छन् भने विभिन्न सङ्घ-संस्थाहरूबाट उनी सम्मानित र अभिनन्दित बनिसकेका छन्। साहित्यका विद्यार्थीहरूले उनीमाथि शोध गरेका छन् जसमा ‘नरबहादुर दाहालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ विषयमाथि त्रिभुवन विश्वविद्यालय काठमाडौंकी शोधार्थी लता खनालले सन् १९९९ मै गरेकी छन्। उसरी नै उत्तर बङ्गाल विश्वविद्यालयका शोधार्थी, हेमन्त राईले सन् २०१८ मा ‘नरबहादुर दाहाल: व्यक्तित्व र कृतित्व’माथि शोध गरेका छन्।
आफ्नो जीवनभर जाति, भाषा, समाज र साहित्यको निम्ति मरिमेट्ने व्यक्तित्व नरबहादुर दाहाल विभिन्न सङ्घ ससंस्थाहरूसित जोड़िएरै रहेका कुरा हामी जान्न पाउँछौं। ‘संगीत कला निकेतन’ कालेबुङको उनी १२ वर्ष संस्थापक अध्यक्ष रहे। नेपाली साहित्य अध्ययन समिति, कालेबुङका उनी संस्थापक सदस्य, नेपाली साहित्य कला निकेतन, गौहाटीका संस्थापक सल्लाहकार अनि हाल पनि ‘सुकुना साहित्यिक सांस्कृतिक संस्थान’-का अध्यक्ष रहेका छन्।
हामी जान्न पाउँछौं दाहालज्यूका मौलिक साहित्यिक कृतिहरू हुन् -‘उन्माद’ (कविता संग्रह) सन् १९५८, ‘वरपीपल’ (कथा संग्रह ) सन् १९६०, ‘मध्यरातको तारा’ (उपन्यास) सन् १९६४, ‘तिम्रो प्रीत नै मेरो गीत’ (कविता संग्रह) सन् १९७०, ‘नरेन्द्रप्रसाद कुमाई’ (जीवनी) सन् २०००, ‘गंगाप्रसाद प्रधान’ (जीवनी)-सन् २०११, ‘गोर्खा महानायक डम्बरसिंह गुरूङ’ (जीवनी) सन् २०१५ आदि। यी कृतिहरू अतिरिक्त लगभग ६०० जति कविता, लेख, कथा इत्यादि विभिन्न पत्रपत्रिका/समाचारपत्रहरूमा प्रकाशित भएका छन्। उनले अनेक कृति र पत्र पत्रिकाहरूको सम्पादन गरेका छन्। उनीद्वारा सम्पादित कृतिहरूबारे हामी जान्न पाउँछौं- ‘अमर कथा’(कथा संग्रह) सन् १९६२, ‘सिक्किम प्रसंग’ (लेख) सन् १९६८, ‘सेलको माला’(हास्य व्यंग्य कविता संग्रह) सन् १९६६, ‘अजम्बरी गंगाप्रसाद प्रधान’ (लेख संग्रह, सह सम्पादन) २०१५ आदि। साहित्यिक पत्र-पत्रिका र स्मारिकाहरूमा ‘अरूणोदय’ (१९४९), ‘उदगम’ (१९५०), ‘गोर्खा’ (१९६२), ‘प्रतिनिधि’ (१९७५), ‘संगम’ (१९६८), ‘सधैँ गौरव राख्नेछौं गोरखाको’ (१९६०)-सितै १५ वटा जति विभिन्न स्मारिकाहरू उनको सम्पादनको क्षितिजबाट झुल्केर नेपाली भाषा साहित्य संसारमा झलमल्ल बन्न सकेका छन्।
आदरणीय दाहाल महोदयका १५ वटा जति कृतिहरू प्रकाशोन्मुख छन् भन्ने कुरो जान्न पाउँदा हामी भाषा साहित्य प्रेमीका मुटुहरू त्यसै रमाएका छौं। उदीयमान लेखकहरूलाई अनुभवले हिमाल भइसकेका हाम्रो भाषा साहित्यका एक श्रद्धेय व्यक्तित्व नरबहादुर दाहालज्यूको सन्देश बोक्छन् यी हरफहरू- ‘लेखक, कवि, साहित्यकार भनेका बुद्धिजीवीवर्ग हुन्। उनीहरूले समाजलाई मार्गदर्शन गर्नुपर्छ। यसैले उनीहरू नम्र, शिष्ट र विनयशील हुनुपर्छ। मिलनसार हुनुपर्छ। सधैॅ आफ्ना अग्रजहरूलाई सम्मान गर्नुपर्छ अनि अग्रजहरूले आफूभन्दा सानालाई माया गर्नुपर्छ। कुनै पनि लेखकलाई उसको योगदानभरिको स्थान दिनु पर्छ। पुरस्कार र सम्मानको निम्ति ‘गीता’-को यो उपदेश पालन गर्नुपर्छ- ‘कर्म गर्दै जाऊ, फलको आशा नराख।’ ***








