ला लीगाः सीजनमा पहिलो हारको सम्मुखीन भयो रियल म्याड्रिड

IMG_20221108_122426.jpg

८ नोभेम्बरः स्पेनिश ला लीगा फूटबलको जारी सीजनमा गत विजेता रियल म्याड्रिड पहिलोपल्ट हारको सम्मुखीन भयो। सोमवार राति खेलिएको म्याचमा रियल म्याड्रिडलाई रायो भालेकानोले २-३-ले उलटफेरको शिकार बनायो। यस हारले गर्दा रियल म्याड्रिडले चीरप्रतिद्वन्द्वी बार्सिलोनालाई पार गरी शीर्ष स्थान हासिल गर्ने मौका पनि गुमायो। रायो भालेकानोको होम ग्राउण्डमा अनुभवी करीम बेञ्जेमा बिना खेल्दै रियलले मौकाहरूको फाइदा उठाउन सकेन। यसैकारण ५५ प्रतिशत पोजेशनको साथ खेल्दै म्याचमा एक समय २-१-ले अघि भए पनि रियल अन्तमा पराजित भयो। सान्ति सोमेसानाले पाँचौं मिनटमा रायो भालेकानोलाई बढ़त दिलाए। त्यसपछि लुका मोड्रिचले ३७औं मिनटमा पेनल्टीबाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसको लगत्तै चार मिनटपछि एडर मिलिटाओले गोल गरी रियललाई २-१-को बढ़त दिलाए। रायो भालेकानोले पनि म्याचमा फर्किन अधिक समय लिएन अनि अल्भारो गार्सिया रिभेराले ४४औं मिनटमा होम टीमलाई २-२-को बराबरीमा पुऱ्याए। अन्तमा अस्कर ट्रेजोले ६७औं मिनटमा पेनल्टीबाट गोल गरी रायो भालेकानोलाई ३-२-ले जीत दिलाए। यस हारले गर्दा रियल ला लीगा टेबलमा १३ वटा म्याचमा ३२ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी नै शीर्षमा रहने बार्सिलोनासँग अहिले रियलभन्दा २ पोइण्ट अधिक रहेको छ। ला लीगाको जारी सीजनमा यो रियलको पहिलो हार हो। यसरी नै म्याचमा जीत हासिल गर्ने रायो भालेकानो चाहिँ २१ पोइण्टको साथ आठौं स्थानमा रहेको छ।

About Author

Advertisement