ला लीगाः भिल्लारियल विरुद्ध हारले रियलको च्याम्पियन बन्ने सम्भावनालाई झट्का

CollageMaker_202349122352620.jpg

९ अप्रेलः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले भिल्लारियल विरुद्ध ३-२-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा यस हारले रियलको लीग खिताब जित्ने सम्भावनालाई ठूलो झट्का लाग्यो। यस हारपछि रियल म्याड्रिड शीर्ष स्थानमा रहने बार्सिलोनाभन्दा १२ पोइण्ट पछि हुन पुग्यो। यसबाहेक बार्सिलोनाले एउटा म्याच कम्ती पनि खेलेको छ। सेण्टियागो बर्नब्यू स्टेडियममा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने भिल्लारियलबाट सेमुएल चुकवुएजेले ३९औं र ८०औं मिनटमा २ गोल गरे। यसबाहेक जोसे लुइस मोरालेसले ७०औं मिनटमा गोल गरे। यसरी भिल्लारियलका खेलाड़ी पाउ टोरेसले १६औं मिनटमा आत्मघासी गोल गर्दा म्याचमा बढ़त हासिल गर्ने रियलबाट दोस्रो गोल भिनिसियस जूनियरले ४८औं मिनटमा छिराए। यस जीतपछि भिल्लारियल २८ वटा म्याचमा ४७ पोइण्टको साथ ला लीगा टेबलको पाँचौं स्थानमा पुग्यो। रियल चाहिँ ५९ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो।

यसरी नै रियल सोसिएदादले गेटाफे विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट मिकेल ओयारजाबालले मध्यान्तर अघि स्टपेज टाइमको दोस्रो मिनट अनि टाकेफुसा कुबोले ६०औं मिनटमा गोल गरे। यस जीतपछि रियल सोसिएदाद ५१ पोइण्ट लिएर चौथो स्थानमा रहन पुग्यो। ला लीगाका अन्य म्याचहरूमा ओसासुनाले एल्चेलाई २-१-ले अनि एथलेटिक क्लबले एस्पानयोललाई २-१-ले पराजित गऱ्यो। सेविले र सेल्टा विगोबीचको म्याच २-२-ले ड्र रह्यो।

About Author

Advertisement