१० अगस्त: टिस्टा खेलकुद समितिको तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा बुधवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको पहिलो म्याचमा लाञ्जिंग सेभेन तारखोलाले सनराइज कालीझोड़ालाई ५-३-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा एसओटी टिस्टाले रोंगचोंगलाई टाईब्रेकरमा ६-५-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो । गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।









