गान्तोक: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले सबै जिल्लाहरूमा संरक्षित क्षेत्र पर्मिट जारी गर्ने घोषणा गरेपछि मंगन जिल्ला पञ्चायत उपाध्यक्ष, सोनाम किपा भोटियाले त्यसको विधिवत शुरूवात गरिन्। यस अवसरमा मंगन जिला पर्यटक सूचना केन्द्रमा पर्मिट जारीलाई लिएर कार्यक्रम आयोजित गरिएको थियो। पर्यटन सूचना केन्द्रद्वारा आयोजित उद्घाटन कार्यक्रममा मंगन महकुमा अधिकारी, पर्यटन विभागीय अधिकारीहरु, पर्यटन सरोकारवालालगायत विभिन्न विभागीय अधिकारीहरुको उपस्थिति रहेको थियो। अबदेखि मंगन टीआईसीले उत्तर सिक्किमका लागि नथुला पास, बाइक, विदेशी पर्यटकका लागि पर्मिट जारी गर्ने जानकारी दिइएको थियो। यस पहलले पर्यटकहरूलाई भ्रमणको क्रममा सहजता ल्याउने लक्ष्य राखेको छ। जिला उपाध्यक्ष भोटियाले आफ्नो सम्बोधनमा टिआइसीबाट पर्मिट जारी गर्दा पर्यटकको संख्यामा बढोत्तरी हुने बताइन्। उनले पर्यटकलाई सकारात्मक अनुभव दिलाउन पर्यटन सरोकारवालालाई गम्भीरतासित काम गरिदिने आग्रह गरिन्। उनले राज्यको सफाई र पर्यावरणमाथि पनि पर्यटकहरूलाई सचेत गराउनुको महत्त्वबारे जोड दिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै मंगन महकुमा अधिकारीले सरकारको दृष्टिकोणको प्रशंसा गरे। उनले राज्य पर्यटनमा निर्भर रहेको बताउँदै राज्यलाई पर्यटकमैत्री बनाउन सबैले पहल गर्नुपर्ने बताए। यसअघि पर्यटन तथा नागरिक उड्डयन उपनिर्देशकले नयाँ पर्मित प्रणालीबारेमा जानकारी दिँदै सबै जिल्लामा सन्तुलित पर्यटन प्रवर्द्धन जरूरी रहने बताए। पर्यटन तथा नागरिक उड्डयन विभागले चाँडै लाचेन र लाचुङमा टीआईसी सञ्चालन गर्ने जानकारी पनि दिएको छ।









