खरसाङ: खरसाङ खण्डको लङ्भ्यू चियाबारी श्रमिकहरूको समस्या विषय अब चाँढै राज्यको श्रम मन्त्रीको मध्यस्थतामा त्रिपक्षीय बैठक हुने भएको छ। गत १६ फरवरीमा जीटीए प्रमुख कार्यपाल अनित थापाको प्रयासमा लङ्भ्यूका संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरूले राज्यका श्रम मन्त्री मलय घटकसँग भेट गरेर विगत धेरै वर्षदेखि यहाँका श्रमिकहरूले भोग्न परिरहेको समस्याबारे अवगत गराउँदै शीघ्र समाधानको निम्ति पहल गरिदिने आग्रह गरेकै फलस्वरूप श्रम मन्त्रीले आगामी चाँडै बगानका मालिक गोबिन गर्गलाई बोलाएर त्रिपक्षीय बैठक गराउने आश्वासन दिएको एक प्रेस भेलामार्फत प्रतिनिधि टोलीका हमिङ तामाङ अनि सचिन थापाले दिएका छन्। उनीहरूले उक्त बैठकमा विशेषगरी तीनवटा विकल्पको बारेमा पनि चर्चा भएको जनाएका छन्। काेलकत्तामा भएको बैठकबारे जानकारी गराउन प्रतिनिधि टोलीले शुक्रवार जीटीए प्रमुख कार्यपाल अनित थापासँग गाडीधुरामा भेट गरेका थिए।










