यद्यपि साठ्ठीभन्दा अधिक श्रमिकहरूले आज लगभग एकसय नब्बे किलो चियापत्ती टिपेको दावी
खरसाङ: गत ३ मार्चदेखि मालिक पक्षबाट नो वर्क नो पे-को नोटिस टाँसिएपछि प्रायः अचल रहेको खरसाङको लङ्भ्यु चियाबारीमा कमान खोलाउनुपर्छ भन्ने पक्षका श्रमिकहरू बिहान पत्ती टिप्न निस्किएपछि आन्दोलनरत श्रमिक संगठन एचपीइयु समर्थकहरूले यसको विरोध गर्न निस्किएपछि बिहान केहीक्षण यहाँको स्थिति तनावपूर्ण बनेको थियो। विशेष गरी विभिन्न राजनीतिक दलसँग सम्बन्धित श्रमिक संगठनको संयुक्त मञ्च जोइण्ट फोरम अनि भागोप्रमो समर्थित श्रमिकहरूले आन्दोलन गरेर औ कमान बन्द गरेर तिनीहरूलाई धेरै समस्या परेको तथा आर्थिक रूपले तिनीहरूलाई नोक्सान भएको भन्दै तिनीहरू काम गर्न राजी भएर पत्ती टिप्न निस्किए लगत्तै अर्कोतिर आफ्नो विभिन्न मागहरूलाई लिएर जबसम्म मालिक पक्षबाट तिनीहरूको माग पूरा गरिँदैन तबसम्म चियापत्ती नटिप्ने अडान लिएर आन्दोलन गरिरहेका एचपीइयु समर्थित श्रमिकहरूले पत्ती टिप्नबाट रोक लगाएपछि स्थिति केहीक्षण तनावपूर्ण भएको थियो। यद्यपि यहाँका प्रायः साठ्ठीभन्दा अधिक श्रमिकहरूले आज लगभग एकसय नब्बे किलो चियापत्ती टिपेको दावी जोइण्ट फोरम अनि भागोप्रमो समर्थित श्रमिक संगठनले गरेका छन्। उक्त चियापत्तीलाई कमानकै कारखानामा तयार पारिएको पनि तिनीहरूले जनाएका छन् भने अब श्रमिकहरूले भोलिदेखि पुनः आफ्नो कामलाई निरन्तरता दिने पनि बताएका छन्। यद्यपि विगत लामो समयपछि लङ्भ्यु चियाबारीको कारखाना सञ्चालनमा आएकोले स्थानीय केही श्रमिकहरू खुशी देखिएका थिए।










