खरसाङ: रोयल एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको क्वाटर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत 3 जनवरीदेखि घैयाबारीस्थित नेताजी हाई स्कूलमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज रोयल एफसी र माउन्टेन ट्रुपर्समाझ पहिलो राउन्डको अन्तिम खेल सम्पन्न भएको छ। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको अन्तिम खेलमा भने रोयल एफसीको तर्फबाट अभिषेक लामाले गोल गरेर आफ्नो टिमलाई विजय बनाएका थिए। दोस्रो हाफको खेलमा माउन्टेन ट्रुपर्सले गोल गर्ने धेरै प्रयास गरे पनि गोल गर्न सकेन अनि रोयल एफसीले खेल १-० ले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा म्यान अफ् द म्याच रोयल एफसीको अभिषेक लामालाई प्रदान गरिएको छ। अब आगामी १६ जनवरीदेखि क्वाटर फाइनलको खेल शुरू हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सदस्य वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।








