रिम्बिक लोधोमा समष्टिको फेदी खोलावासीले श्रमदान गरेर बनाउन थाले बाटो

IMG-20251015-WA0127

बिजनबारी: दार्जिलिङ जिल्ला अन्तर्गत रिम्बिक लोधोमा समष्टिको लोधोमा ग्राम पञ्चायत दुईको फेदीखोला गाउँ पैह्रोका कारण प्रभावित भएको छ। गत ४ अक्टोबर राती परेको भीषण वर्षाका कारण यहाँको रिट्ठे खोलामा आएको बाढीका कारण क्षेत्रलाई मूल सडकसँग जोड्ने दुईवटै सडक विछिन्न बनेको छ। यस्तोमा स्थानीय गाउँलेहरुले श्रमदानद्वारा यातायात सुचारु गर्ने पहल भइरहेको छ। सडक विछिन्न बनेपछि ग्राम पञ्चायतका केही गाउँहरु फेदीखोला, फेन्चेटार, फोक्टे आदि कालापानी बनेको छ। यातायात बाधित बनेपछि यहाँका विद्यार्थीहरु, बिरामीहरु, व्यापारी तथा आम मानिसहरूले समस्याको सामना गर्न परेको छ।हाल श्रमदानद्वारा अस्थायी रुपमा यातायात योग्य बनाउने स्थानीयहरुको प्रयास रहेको छ। स्थानीय छितेन शेर्पाले बताए अनुसार उनीहरुको पहिलो प्राथमिकता नै सडक निर्माण रहेको छ। यसका साथै यी गाउँहरुमा पैह्रोका कारण व्यापक क्षति पुगेको छ। धेरै घरहरु पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने धेरै आंशिक रूपमा भत्किएका छन। पैह्रोका कारण कृषि योग्य जमिनमा धेरै नोक्सानी भएको छ भने उत्पादित कृषि सामाग्रीहरु बजारसम्म पुग्न नसकेको अवस्था रहेको स्थानीयहरू बताउँछन्। स्थानीय खन्जु शेर्पाले अहिलेका लागि गाउँका मानिसहरू मिलेर अस्थायी रूपमा वाहन चल्न सक्ने बाटो बनाइरहेको बताए जसको अझ ४-५ दिन लाग्न सक्ने बताए। सबन्धित विभागद्वारा चाँडै नै पक्की सडक अनि यहाँको पूर्वाधार निर्माणमा कार्य गरिदिने अपिल पनि क्षेत्रबासीले गरेका छन्।

यसका साथै फेदीखोला प्राथमिक पाठशालालाई पनि पहिरोले धेरै क्षति पुर्याएको विद्यालयका कर्मचारी गेन्जु शेर्पाले जानकारी गराएका छन्। क्षेत्रमा पहिरोको कारण बिजुली बत्ती लगायत खाने पानीको पाइप लाइनहरु चूटिएको थियो भने क्षेत्रीय सभासद् नोरदेन शेर्पाको पहलमा अहिले सुचारू भएको पनि क्षेत्रबासीले बताएका छन्। उनीहरुले हालका निम्ति बाटो निर्माण नै प्राथमिकतामा रहेको जनाउँदै बाटो सुचारू हुन सके धेरै समस्याको समाधान हुने पनि बताए।

About Author

Advertisement