दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा रिभर भेल्ली फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा सोमवार भएको पहिलो राउण्डको अन्तिम म्याचमा रिभर भेल्ली फूटबल क्लबले तारापाताको टीमलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सन्नी सुब्बाले ४२औं अनि पुकार छेत्रीले ५१औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब मंगलवार खेलिने पहिलो प्री-क्वार्टर फाइनल म्याचमा सिरमूर बोइज र अमन सेभेनबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।










