रिचा घोषलाई राज्य सरकारद्वारा ‘बंग भूषण’ र डीएसपी को पद, सीएबीद्वारा ३४ लाख रुपियाँ

काेलकत्ता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले हालै महिला वनडे वर्ल्ड कप २०२५ विजेता हुने भारतीय टीमकी सदस्य रिचा घोषलाई बंग भूषण पुरस्कारले सम्मानित गर्नको साथै उनलाई राज्य पुलिसमा डेपुटी सुपरिण्टेण्डेण्ट अव् पुलिस (डीएसपी) को पद प्रदान गरिन्। कलकत्ताको ईडन गार्डन्समा क्रिकेट एसोसिएशन अव् बंगाल (सीएबी) द्वारा आयोजित सम्मान समारोहमा २२ वर्षीय रिचालाई भव्य स्वागत जनाइयो। सम्मान समारोहमा सीएबीका अध्यक्ष सौरभ गांगुलीले रिचालाई ३४ लाख रुपियाँको चेक प्रदान गरे। यसको साथमा सिलगढ़ीकी विकेटकीपर ब्याटरलाई गोल्डन ब्याट र बल पनि प्रदान गरियो। रिचाले फाइनलमा ३४ रन बनाएकी हुनाले त्यसको प्रतीकात्मक रूपमा सीएबीले रिचालाई ३४ लाख रुपियाँको चेक प्रदान गर्यो। सम्मान समारोहमा राज्यकी मुख्यमन्त्रीको साथमा खेल मन्त्री अरूप विश्वास, राज्य मन्त्री मनोज तिवारी, भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुली र पूर्व महिला पेस बलर झूलन गोस्वामी पनि उपस्थित थिए। सम्बर्द्धना कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले रिचालाई गोल्डन ब्याट, बंग भूषण, गोल्डन चेन र डीएसपीको नियुक्ति पत्र प्रदान गरिन्। पूर्व भारतीय कप्तान तथा सीएबी अध्यक्ष गांगुलीले यस अवसरमा भने, हामी रिचाले पनि एक दिन झूलन गोस्वामीले झैँ उँचाई हासिल गरेको हेर्न चाहन्छौं। एकदिन हामी पनि रिचालाई भारतीय कप्तानको रूपमा हेर्न चाहन्छौं। उल्लेखनीय छ, रिचाले भारतीय टीमको निम्ति वर्ल्ड कपमा मध्यक्रमकी ब्याटर र विकेटको दोहोरो भूमिकामा असाधारण प्रदर्शन गरेकी थिइन्।

About Author

Advertisement