प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन शाहलाई दिए बधाई
काठमाडौं: नेपालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो बहुमततर्फ उन्मुख देखिएको छ। प्रारम्भिक परिणामअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उक्त पार्टीले १२५ सिट जितेको छ।
यसबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह लाई टेलिफोन गरेर बधाई दिएका छन्।
मोदीले उनीहरूसँग आत्मीय कुराकानी गरेको उल्लेख गर्दै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ‘पहिलो हुनेले जित्ने’ प्रणालीमा १६५ मध्ये १६४ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १२५ सिटसहित अग्रस्थानमा छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १८ क्षेत्रमा जित हासिल गरेको छ। त्यसपछि क्रमशः नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।
समानुपातिकतर्फ ९९ लाखभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ लाख ८० हजारभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार अझै करिब नौ लाख मत गणना हुन बाँकी रहेको छ। आयोगका अधिकारीहरूले समानुपातिक प्रणालीको अन्तिम परिणाम छिट्टै सार्वजनिक हुने बताएका छन्।










