राष्ट्रिय उत्कृष्टताको उपाधि, जुनियर मिस इन्डियाको मुकुट मालदाकी प्रिन्सि प्रिया भौमिकको नाममा

IMG-20260217-WA0039

मालदा: बंगालको गौरवमा अर्को नयाँ अध्याय थपिएको छ। जयपुर मा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा जुनियर मिस इन्डियाको उपाधि जितेर मालदाकी किशोरी प्रिन्सिप्रिया भौमिक ले इतिहास रचेकी छन्। मात्र सोह्र वर्षको उमेरमै राष्ट्रिय मञ्चमा उत्कृष्टताको सम्मान प्राप्त गर्दै उनले समग्र राज्यको शिर उचो पारेकी छन्।
मालदा जिल्लाको इंग्लिश बाज़ार नगरपालिका, वार्ड नम्बर तीनस्थित गभर्नमेन्ट कॉलोनीकी बासिन्दा प्रिन्सिप्रिया कक्षा एघारकी छात्रा हुन्। उनका पिता सुरजीत भौमिक व्यवसायी हुन् भने माता पूर्णिमा भौमिक गृहिणी हुन्। सानैदेखि ठूलो मञ्चमा पुग्ने सपना देखेकी उनले अन्ततः त्यो सपना साकार पारेकी छन्।
यो सफलता सजिलो यात्रा थिएन। कोलकाता मा आयोजित राज्यस्तरीय अडिसनमा करिब सात सय पचास प्रतिस्पर्धीबीच आफूलाई प्रमाणित गर्दै उनले राष्ट्रिय चरणमा प्रवेश गरेकी थिइन्। त्यसपछि जयपुरमा देशका विभिन्न राज्यबाट आएका एक सय पचहत्तर प्रतिस्पर्धीलाई पछि पार्दै उनले जुनियर मिस इन्डियाको मुकुट जितिन्।
प्रतियोगिताको सांस्कृतिक चरणमा प्रिन्सिप्रियाले विशेष ध्यान आकर्षित गरिन्। बंगालको परम्परागत नबन्न उत्सव लाई आफ्ना पहिरन र प्रस्तुतिमार्फत झल्काउँदै उनले निर्णायकहरूको मन जितिन्। साथै परिचय, प्रतिभा प्रदर्शन तथा र्‍याम्प वाक, सबै चरणमा उनको आत्मविश्वासपूर्ण र सहज प्रस्तुति देखिएको थियो।
सात वर्षको उमेरदेखि नै प्रिन्सिप्रिया मोडलिङ र अभिनयको प्रशिक्षण लिँदै आएकी छन्। उनी यसअघि कालियाचक चैप्टर २ चलचित्र मार्फत अभिनय क्षेत्रमा प्रवेश गरिसकेकी छन्।
भविष्यमा उनी केवल मोडलिङमै सीमित नरही चलचित्र क्षेत्रमा पनि आफ्नै पहिचान बनाउन चाहन्छिन्। अब उनको लक्ष्य अझ ठूलो छ, आगामी दिनमा मिस इन्डिया प्रतियोगिताका लागि आफूलाई तयार पार्नु। मालदाकी प्रिन्सिप्रियाको यो सफलता एउटा स्पष्ट सन्देश दिन्छ- सपनाको उचाइ ठूलो भए उमेर कहिल्यै बाधा बन्दैन।

About Author

Advertisement