गान्तोक: भोलि ९ जुलाईको दिन एनडीएका राष्ट्रपति पदका उम्मेदवार द्रौपदी मुर्मु सिलगड़ी आउनेछन्। मौसमको कारण सिक्किम भ्रमण असम्भव भएपछि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारका मन्त्रीमण्डल, एसकेएम नेतृत्व, सिक्किम भाजपाका विधायक एवं प्रतिनिधिमण्डलले सिलगड़ीमै श्रीमती मुर्मुसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनलाई सिक्किमको पक्षबाट स्वागत जनाउन युद्धस्तरमा तयारी चलिरहेको छ। श्रीमती मुर्मुसँगको भेट कार्यक्रमको निम्ति आजै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ सिलगड़ी पुगिसकेका छन्। उनीसँग राज्य मन्त्रीमण्डलका सदस्यहरू, एसकेएम नेतृत्वहरूको उपस्थिति रहेको छ।
जानकारी गराइन्छ, राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-ले राष्ट्रपति पदको निम्ति झारखण्डका पूर्व राज्यपाल श्रीमती द्रौपदी मुर्मुलाई उम्मेदवारको रूपमा खड़ा गरेको छ भने एकीकृत विपक्षीले यसवन्त सिन्हालाई राष्ट्रपति पदको निम्ति उम्मेद्वार खड़ा गरेको छ। एसकेएम पार्टीको नेतृत्वमा रहेको राज्य सरकारले एनडीए उम्मेदवार श्रीमती मुर्मुलाई बिनाशर्त समर्थन जनाउने अगावै घोषणा गरिसकेको छ भने उनको जीत लगभग निश्चित छ।









