रायोङ-तीनकिताममा विश्व आमा दिवस भव्यरूपमा पालन

ttb_592

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत रायोङ-तीनकिताम ग्राम पञ्चायत एकाईको आयोजनामा आइतवार विश्व आमा दिवस भव्यताको साथ पालन गरियो। कार्यक्रममा सिक्किम सरकारका अनुमान समितिका अध्यक्ष एवं बर्फुङ क्षेत्रका विधायक टीटी भोटिया प्रमुख अतिथि रहेका थिए। विधायक भोटियाले कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित आमाहरूलाई आमा दिवसको बधाई अनि शुभकामना व्यक्त गरे। उनले रायोङ तीनकिताम ग्राम पञ्चायत एकाई लगायत क्षेत्रस्तरमा आमा दिवस पालन गर्ने पहिलो रहेको बताए। उनले आगामी सालमा क्षेत्रस्तरमा नै आमा दिवसलाई पालन गर्ने उपस्थित आमाहरूलाई जानकारी दिए।

आमाहरूलाई सम्मान गर्न सिक्किम सरकारले आमा योजना शुरू गरेको जानकारी दिँदै यस योजना अन्तर्गत आमाहरूलाई बीस हजार रूपियाँ सरकारले वितरण शुरु गरेको पनि जानकारी दिए। सिक्किम सरकारले तीनकिताममा दुईवटा गुम्बा बनाउने अनुमोदन गरिसकेको र निर्माणको काम पनि शुरु भएको उनले थप जानकारी दिए। यसैगरी, रायोङ तीनकितामदेखि राबोङ जाने सडकको कारपेटिङको काम पनि शुरू भइसकेको उनले बताए। कार्यक्रममा पूर्व विधायक सोनाम ग्याछ्यो भोटिया, पञ्चायत सभापति पेमा डीकी भोटिया र पूर्व पञ्चायत सोनाम वाङ्चुक भोटियाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य र आमा सम्बन्धि कविता वचन पनि गरिएको थियो। यस अवसरमा संगानाथ ग्राम पञ्चायत एकाईका पञ्चायत सभापति महेश राई, मण्डल प्रमुख प्रदिप गुरूङ, पूर्व जिल्ला पञ्चायत सदस्य सीबी मंगर, स्थानीय ग्राम पञ्चायतगण, भूतपूर्व कर्मचारीगण, आशा कार्यकर्ता, आंगनवाड़ी कार्यकर्ता लगायत आमाहरूको बाक्लो उपस्थिति रहेको थियो।

-हिस

About Author

Advertisement