खरसाङ: श्री राम महोत्सव समिति दार्जिलिङ खरसाङ शाखाको आयोजनामा श्री राम नवमीको अवसरमा खरसाङको गिध्द पहाडस्थित श्री राम मन्दिरदेखि दार्जिलिङको महकाल मन्दिरसम्म पदयात्राको आयोजना गर्ने भएको छ। यस विषयमा खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर आरएसएसद्वारा आयोजित तथा सहयोगप्राप्त श्री राम नवमी महोत्सव दार्जिलिङ खरसाङ शाखाका पदाधिकारीहरुले जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छे, सचिव बिक्रम प्रसाद, कोषाध्यक्ष कैलाश गोयल, पण्डित केशव मिश्र, पण्डित पुरुषोत्तम अधिकारी, सदस्यहरु बिनय प्रसाद, चन्दन प्रसाद र अन्यहरु उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा श्री राम नवमी महोत्सव समिति दार्जिलिङको खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छे र सचिव बिक्रम प्रसादले पत्रकारहरुलाई सम्बोधन गर्दै श्री राम नवमीको अवसरमा बिहान ६:३० देखि ७ बजीको समयमा खरसाङको गिध्द पहाडस्थित श्री राम मन्दिरबाट पदयात्रा शुरु भएर खरसाङ, सोनादा हुँदै जम्मा 40 किलोमिटरको पदयात्रा गरेर दार्जिलिङको महकाल बाबाको मन्दिरसम्म पुग्ने बताएका छन्। दुवैले यस पदयात्रामा खरसाङ क्षेत्रका विभिन्न मठ मन्दिरहरुका पुजारी र सन्तहरु लगायत स्थानीयहरु भेला भएर दार्जिलिङसम्मको पदयात्रा तय गर्ने बताए। यसलाई तीर्थयात्राको रुपमा लिएर सामेल भई दिने अनुरोध पनि आयोजक समितिको तर्फबाट गरिएको छ। यस पदयात्रामा अयोध्याबाट ल्याइएको श्रीरामको चरण धुल, अमृत र ढुंगा पनि लिएर पदयात्रा गरिने भएकोले सबैले यसको दर्शन गर्न सक्ने साथै ठाउँ ठाउँमा सबैले पदयात्रीहरुलाई स्वागत गरिदिने पनि आह्वान् गरिएको छ।










