रामकृष्ण शर्माको शतवार्षिकी पालनहामीले भारतीय नेपाली साहित्य भनिरहन आवश्यक छैनः प्रो. शर्मा

IMG-20220531-WA0158.jpg

गान्तोक। नेपाली साहित्य परिषद्को आयोजनामा समालोचक रामकृष्ण शर्मामाथि शोध गरी सिक्किममा विद्यावारिधि प्राप्त गर्ने डा. शान्ति छेत्रीको विशेष पहलमा समालोचक शर्माको शतवार्षिकी कार्यक्रम भव्य रूपमा पालन गरियो। स्मरण रहोस्, प्रत्येक महिनाको अन्तिम आइतवारको दिन सम्पन्न हुने प्रतिभा मिलनको ११२औं संस्करणमा यो शतवार्षिकी कार्यक्रम भइरहेको थियो। यस कार्यक्रमको अध्यक्षता नेपाली साहित्य परिषद्का अध्यक्ष रूद्र पौड्यालले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको आसनमा उत्तरबङ्ग विश्वविद्यालयका पूर्व प्रोफेसर लक्ष्मीकान्त शर्मा रहेका थिए। यसरी नै कार्यक्रममा विशेष अतिथिका रूपमा रामकृष्ण शर्माका सुपुत्र अधिवक्ता अनन्तज्योति शर्मा रहेका थिए भने नेपाली साहित्यका एक धरोहर पद्मश्री सानु लामाको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको शुरुआत नेपाली साहित्य परिषद्का उपाध्यक्ष टी. बी. चन्द्र सुब्बाको स्वागत सम्बोधनबाट भएको थियो। कार्यक्रमका मुख्य अतिथि प्रोफेसर लक्ष्मीकान्त शर्माले आफ्नो सम्बोधनीय वक्तव्यमा रामकृष्ण शर्माभित्र रहेको जातीयबोधको प्रशंसा गर्दै आजभोलि भारतीय नेपाली भाषी वा भारतीय नेपाली साहित्य भन्दै सम्बोधन गर्नेगरिएको सन्दर्भको विरोध गर्दै भारतीय पंजाबी साहित्य, भारतीय गुजराती साहित्य अथवा भारतीय बङ्गला साहित्य हुँदैन भने भारतीय नेपाली साहित्य भन्न किन जरुरी भयो भन्ने प्रश्न राख्दै हामी भारतमा जन्मेका हौं, भारतमै हाम्रो साहित्य फले-फुलेको छ त्यसकारण हामीले भारतीय नेपाली भाषा वा साहित्य भनिरहन आवश्यक नरहेको उनको दाबी थियो। यसैगरी कार्यक्रमका विशेष अतिथि रामकृष्ण शर्माका सुपुत्र अनन्त ज्योति शर्माले समालोचना भन्नेबितित्तिकै छुच्चो व्यक्तिको रूपमा चिन्ने गरिने तर त्यो छुच्चोपना होइन, जातिको उत्थानको निम्ति, भाषाको विकासको निम्ति उनीहरूले गरेका काम हुने बताए। त्यसकारण उनीहरू समाजका दह्रिला खम्बाहरू हुन् भन्ने कुरा राख्दै समालोचक रामकृष्ण शर्माको जन्मजयन्ती यसरी मनाइएको उनको स्मरणमा रहेअनुसार यो पहिलो रहेको उनले बताए।
यसरी नै डा. शान्ति छेत्रीले समसामयिक व्यंग्य कविता प्रस्तुत गर्दै रामकृष्ण शर्मामाथि आफूले शोध गर्ने क्रममा नपाइएका कतिपय कुराहरू पनि कार्यक्रमका विशेष अतिथि अनन्त ज्योति शर्माले राखिदिएकोमा उनलाई धन्यवाद दिँदै रामकृष्ण शर्मा जस्ता समालोचक नेपाली समाजका एक धरोहर रहेको अनि यस्ता व्यक्तिहरूलाई बचाइराख्ने दायित्व नेपाली समाज र साहित्य स्रष्ठाहरूको भन्ने कुरा राखिन्। कार्यक्रमका अध्यक्ष रूद्र पौड्यालले रामकृष्ण शर्मा एकजना नेपाली समाजका न्यायाधीश हुन् भन्ने कुरा राख्दै नेपाली भाषा र जातिका निम्ति एक अब्बल व्यक्तित्व रहेको संक्षिप्त जानकारी दिए। कार्यक्रममा विशेष गरेर डा. शान्ति छेत्रीको पहलमा सिक्किमको कला-संस्कृतिको विकास र सम्वर्द्धनका लागि भन्दै सिक्किम कलाकार संघका अध्यक्ष चुन्निलाल घिमिरेलाई अंगवस्त्रसहित नगदराशि प्रदान गरियो। यसरी नै कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिलाई पनि अंहवस्त्रसहित सम्मान गरियो। कार्यक्रममा राधा पाण्डेले गजल तथा गायत्री नेपाल र रत्न लक्सम सुब्बाले कविता वाचन गरेका थिए भने कार्यक्रमको सम्पूर्ण सञ्चालन आकाशवाणी गान्तोककी समाचार वाचिका उषा शर्माले गरेकी थिइन्।

About Author

Advertisement