रातेचुका ट्याङ्की भेलले पुरिएपछि गन्तोकको पिउने पानी सप्लाई कटौती हुने सम्भावना

si-4

गान्तोकः पछिल्ला केही दिनदेखि लगातार परेको झरीले खोला बढेपछि रातेचुको पिउने पानीको मुहानमा अवस्थित ट्याङ्कीहरू भेलले पुरिएका कारण गान्तोकको पिउने पानी सप्लाईमा वाधा उत्पन्न हुने सम्भावना बढेर गएको छ। पीएचई विभागबाट प्राप्त जानकारीअनुसार, हिजो शुक्रवार रातेचु खोला बढेर आउँदा सप्लाई ट्याङ्कीमा भेल पसेर पुरिएका छन् जसको सफाई कार्य विभागले शनिवार बिहानैदेखि शुरु गरेको छ। ठुला-ठुला ढुङ्गा र लेदोले पुरिएका रातेचु मुहानका सप्लाई ट्याङ्की सफा गर्न पीएचई विभागले ३९ जना श्रमिकहरू परिचालन गरेको छ।

बाधित भएको लाइन सफा गरेर पिउने पानी आपूर्ती गराउन विभागलाई भोलि आइतवार दिनभर लाग्नसक्ने सम्भावना व्यक्त गरिएको छ। वर्षाको समय भएका कारण गान्तोकको पिउने पानी आपूर्ति गर्न विभागले लोकल सोर्सबाट पानी ट्यापिङ गर्ने जानकारी दिएको छ। तथापी मुख्य सोर्सबाट पानी सप्लाई बन्द हुँदा सेलेप ट्याङ्कीमा गान्तोकको आवश्यकता अनुरुप पानी सङ्कल गर्न नसकिने भएकाले मरम्मति कार्य पूरा नभएसम्म दिनमा एकपल्ट मात्र उपभोक्तालाई पानी सप्लाई गर्ने विभागले जानकारी दिएको छ। पुरिएका ट्याङ्की सफा गरेर आपूर्तिलाई सामान्य नगराएसम्म पिउने पानी फारु गरेर चलाउन विभागले गान्तोकवासीलाई आग्रह गरेको छ। अर्कोतर्फ, भीआईपी लाईन र अस्पतालको सप्लाइमा भने बाधा नहुने पनि विभागले जनाएको।

जानकारी गराइन्छ, अप्रेल महिनामा रातेचु मुहान नजिक नौ माइलमा पैह्रोले पाइपलाइन क्षतिग्रस्त बनाएपछि गान्तोकका मानिसहरूले पिउने पानीको निकै समस्या झेल्नु परेको थियो।

-हिस

About Author

Advertisement