राज्यस्तरीय वैशाखी पर्व पालनलाई लिएर दोस्रो समन्वय सभा सम्पन्न

Untitled-1-copy-43

नाम्चीः नाम्चीको स्थानीय एउटा होटलमा आज आगामी १४ र १५ अप्रेल दुई दिवसीय राज्यस्तरीय वैशाखी पर्व पालनलाई लिएर दोस्रो समन्वय सभा सम्पन्न भयो। सभाको अध्यक्षता नाम्ची साँस्कृतिक मञ्चका अध्यक्ष पीके राईले गरेका थिए। स्मरण गराइन्छ, गत १३ मार्चमा सिक्किम सरकारी अवकाशप्राप्त कर्मचारी कल्याण संघको पहल र आयोजनामा नाम्ची परिसरका विभिन्न संघ-संस्थालाई लिएर एक सभा बसेको थियो। सो सभाले नाम्ची साँस्कृतिक मञ्च नामक एउटा संस्थाको पनि गठन गरेको थियो।आजको सभामा सम्बोधन गर्दै अध्यक्ष पीके राईले मुख्यमन्त्री पीएस तामाङको निर्देशनमा नै दुई दिवसीय वैशाखी पर्व पालन गर्न गइरहेको जानकारी गराए। नाम्ची साँस्कृतिक मञ्चले वैशाखी पर्व मात्र पालन नगरेर सिक्किमका विभिन्न जातिका संस्कृतिहरूलाई संरक्षण र विकास गर्ने उद्देश्य राखेको बताए।

मञ्चका प्रमुख संरक्षक भोजराज राईले यस पर्वको कार्यक्रमले पर्यटकहरूलाई पनि आकर्षित गर्नु पर्ने मनतव्य राखे। सभामा विभिन्न सुझाउहरू राख्दै यस मञ्चलाई स्थायी राख्नका लागि हर हिसाबलाई सही राख्नुपर्ने बताए। सभामा यस मञ्चका संरक्षक सतिशचन्द्र राईले वैशाखी पर्व कार्यक्रमको मुख्य आकर्षण साँस्कृतिक कार्यक्रम, विद्यार्थीहरूबीच वैशाखी पर्व विषय निबन्ध प्रतियोगिता, विभिन्न जातीय खानपानका स्टलहरू आदि रहेको बताए। यस मञ्चको लोगो पनि तयार भइरहेको उनले जानकारी गराए। यस मञ्चको संविधान बनाएर पञ्जिकृत गर्न पहल गर्नु पर्ने पनि उनले बताए। सभामा मञ्चका प्रमुख संरक्षक गणेश राई, प्रमुख सल्लाहकार एसजे लेप्चा, साँस्कृतिक प्रभारी सीबी गुरूङ आदिले पनि सम्बोधन गरेका थिए। सभामा वैशाखी पर्वलाई सफल बनाउन उपसमितिहरू पनि गठन गरियो। सभामा मञ्चका संरक्षक टाँसी दोर्जे तामाङ, संरक्षक रोमा तामाङ आदिको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement