राज्यमा हेपाटाइटिस ‘ए’ रोगीहरू बढ्दै

what-is-hepatitis-a-thumbnail

गान्तोक: सिक्किममा हेपाटाइटिस ‘ए’ का रोगहरू अप्रत्याशित रूपले बढ्न थालेका छन्। गत १ दिसम्बरदेखि अहिलेसम्म ३३ जना रोगी देखा परेका छन्। राज्य स्वास्थ्य विभागका अनुसार, हेपाटाइटिस ‘ए’ रोगीहरूमा वृद्धि एसटीएनएम अस्पतालको आईपीडी र ओपीडी तथा सीआरएचको रिपोर्टले जनाएको छ।
बढ्दो हेपाटाइटिस ‘ए’ का रोगीहरूलाई ध्यानमा राख्दै आज मुख्य सचिवको अध्यक्षतामा एक बैठक आयोजन भएको छ। उक्त बैठकमा संक्रमण रोकथाम गर्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न व्यापक छलफल गरिएको बताए।
बैठकले सम्पर्क ट्रेसिङ, जागरुकता अभियान र निरीक्षण आयोजन गर्ने निर्णय लिएको छ। त्यसैगरी, पीएचई र आरडीडीद्वारा स्थानीय पानीका स्रोतहरूको प्रदुषणको नमूना र परीक्षण गर्ने पनि निर्णय गरेको छ।
राज्य स्वास्थ्य विभागले मानिसहरूलाई हेपाटाइटिस ‘ए’ को संक्रमणबाट जोगिनका लागि पानी राम्ररी उमालेर पिउनुपर्ने, साफ सफाईमा बिशेष ध्यान दिनु पर्ने, स्ट्रीट फूड खान नहुने, फल फूल र साग सब्जी तातो पानीले राम्ररी धोएर मात्र खान सुझाव दिएको छ।
विभागले हेपाटाइटिस ‘ए’ संक्रमित व्यक्तिहरूमा आंखा र छाला पहेंलो हुने, गाढा पिसाब, थकान, वाकवाकी र उल्टी, पेट दुख्ने र भोक नलाग्ने आदि जस्ता लक्षणहरू देखा पर्ने बताएको छ। विभागले लक्षणहरू देखा परेको अबस्थामा नजिकको स्वास्थ्य केन्द्रहरूमा गएर समयमै उपचार गराउन प्रोत्साहित गरेको छ।

About Author

Advertisement