गान्तोक: सिक्किम राज्यमा पहिलोपल्ट प्राकृतिक (नेचरल) बडी बिल्डीङ च्याम्पियनशीप आयोजना गरिने भएको छ। बड़ी बिल्डीङको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका केही युवाहरूले भर्खरै गठन गरेको सङ्गठ बडी बिल्डर युथ्स अफ् सिक्किम (एसोसिएशन)ले राज्यको एक स्थापित मिडिया हाउस सम्मिट टाइम्ससँग मिलेर यो च्याम्पियनशीप आयोजना गरेको हो।
एसोसिएशनमका सदस्यहरूले आज राजधानीमा एउटा पत्रकार सम्मेलन डाकेर आगामी च्याम्पियनशीप बारे जानकारी गराए। एसोसिएशनका सदस्य सुनिल गुरुङले बताएअनुसार पहिलो माउण्ट काबरु ओपन मेन्स बडी बिल्डीङ एण्ड फिजिक च्याम्पियनशीप २०२४ आगामी ६ अक्टोबरको दिन गान्तोकस्थित मनन केन्द्रको मिनी हलमा सम्पन्न हुनेछ।
उल्लेखनीय छ, सिक्किम राज्यमा हालको समय विभिन्न सङ्घ संस्थाले विभिन्न बडी बिल्डीङ च्याम्पियनशीपको आयोजना गर्ने गरेको भए पनि अहिलेसम्म नेचरल अर्थात कुनै प्रकारको स्टेरोइड तथा प्रतिवन्धित औषधीको प्रयोग बिनाको च्याम्पियनशीप भने आयोजना गरिएको छैन। आगामी च्याम्पियनशीप सिक्किम राज्यमा मात्र नभएर सम्पूर्ण हिमालय क्षेत्रमा नै पहिलो नेचरल बडी बिल्डीङ च्याम्पियनशीप हुने आयोजक पक्षको दावी रहेको छ। च्याम्पियनशीप दुईवटा वर्गमा हुनेछ। सुनिल गुरुङले जानकारी गराएअनुसार च्याम्पियनशीप खुल्ला हुनेछ अर्थात सिक्किम राज्य बाहिरका खेलाड़ीहरूले पनि सहभागिता जनाउन पाउनेछन्।
बडी बिल्डर्सहरूद्वारा स्टेरोइड अनि अन्य प्रतिवन्धिक औषधीको प्रयोग स्वास्थ्यको निम्ति हानिकारक हुने गरेकोले प्राकृतिक बडी बिल्डीङ बारे सचेतना जगाउने उद्देश्यले आगामी च्याम्पियनशीप आयोजना गरिएको सुनिल गुरुङले बताए। यस प्रतियोगिताका विजेताहरूको च्याम्पियनशीप पछि आवश्यक जाँच गरिने बताउँदै जाँचमा असफल भएको खण्डमा खेलाड़ीको खिताब फिर्ता लिनुको साथै निर्धारित समयावधिको निम्ति प्रतिवन्धित पनि गरिने उनले थप बताए। यसको साथै यस च्यायम्पियनशीपका विजेता खेलाड़ीहरूलाई एसोसिएशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको निम्ति प्रायोजन गर्ने पनि सुनिल गुरुङले थप जानकारी गराए।










