गान्ताेक: सिक्किम राज्यका लोकसभा सांसद इन्द्रहाङ सुब्बा ले प्रस्तावित गान्तोक–जीमा सडक परियोजनाको विषयमा भारत सरकारको रक्षा मन्त्रालयबाट औपचारिक पत्र प्राप्त गरेका छन्।
सो पत्रमा सांसदले उठाएको विषयको जाँच गरिएको उल्लेख गरिएको छ।
आज जारी गरिएको एक विज्ञप्तिअनुसार सांसद सुब्बाले २७ फेब्रुअरी २०२६ मा भारतका केन्द्रीय रक्षा राज्यमन्त्री संजय सेठ समक्ष गान्तोक–जीमा सडक परियोजनाको विषय उठाएका थिए।
रक्षा मन्त्रालयले उक्त सडक परियोजनाको कार्यान्वयन सक्षम परियोजना व्यवस्थापन परामर्शदाता र प्राधिकरण इन्जिनियरमार्फत उपयुक्त प्राविधिक निरीक्षणका साथ गरिने आश्वासन दिएको छ।
पत्रमा सुरक्षित, स्थिर र वातावरणीय रूपमा जिम्मेवार सडक निर्माण गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा सडकको सम्भावित मार्ग (अलाइनमेन्ट) सँगै भूगर्भीय र भू–आकृतिगत पक्षलाई सावधानीपूर्वक समेटिने बताइएको छ।
त्यसका साथै गुणस्तर, दिगोपन र न्यूनतम वातावरणीय प्रभाव सुनिश्चित गर्न आवश्यक न्यूनीकरण उपायहरू पनि अपनाइने मन्त्रालयले जनाएको छ।
सांसद सुब्बाले मन्त्रालयले विषयलाई चाँडै विचार गरेकोमा आभार व्यक्त गरेका छन्। उनका अनुसार कमजोर हिमालयी क्षेत्रमा वातावरणीय प्रभाव कम गर्दै उच्च निर्माण मापदण्ड कायम राख्नु अत्यन्त महत्वपूर्ण छ।
उनले सिक्किममा सुरक्षित, दिगो र पारिस्थितिक सन्तुलनप्रति संवेदनशील पूर्वाधार विकासका लागि आफूले निरन्तर वकालत गरिरहने प्रतिबद्धता पनि दोहोर्याएका छन्।










