गान्तोकः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा मणिपुरको हिंसामा फँसेका राज्यका विद्यार्थीहरूलाई सुरक्षित सिक्किम फर्काउन सफल भएकोमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्रीलाई धन्यवाद साथै बधाई दिएका छन्। उल्लेखनीय छ, गत केही दिनअघि मणिपुर राज्यका विभिन्न ठाउँमा शुरू भएको साम्प्रदायिक हिंसामाका कारण मणिपुर राज्य तनावग्रस्त बनेको थियो। सिक्किम राज्यको विभिन्न स्थानबाट त्यहाँ अध्ययनरत १२८ जना विद्यार्थीहरूलाई अपरेसन गुरासॅं अन्तर्गत सिक्किम राज्यमा हिजो मात्र सुरक्षित ल्याइयो।
सरकारले उच्चस्तरीय तयारीसँग अप्रेसन गुरासॅं शुरू गरेर संघर्षरत क्षेत्रबाट सुरक्षित विद्यार्थीहरूलाई फर्काउनमा अह्म भूमिका निर्वाह गरेको राज्यपालले बताएका छन्। सरकारको यस प्रकारको निर्णयले राज्यका विद्यार्थीहरू सुरक्षित आफ्नो राज्य फर्किन पाएकोमा सरकारको यो निर्णय अति नै मुल्यावन प्रमाणित भएको उनले बताएका छन्। यस्तो संकटको घडीमा सरकारले प्रभावी ढङ्गमा काम गर्नु गौरवको विषय रहेको राज्यपालले बताएका छन्। मणिपुरबाट सुरक्षित सिक्किम फर्काउन सरकारले मणिपुर र इम्फालमा रहेका विद्यार्थीहरूलाई हवाई जहाजको माध्यमद्वारा कोलकाता र सिलगढीदेखि एसएनटी बसको व्यवस्था मिलाएर सराहनी कार्य गरेको राज्यपालले बताएका छन्। यस्तो महान कार्यको निम्ति राज्यपालले राज्यका मुख्य सचिव वीबी पाठक लगायत अप्रेसन गुरासॅंमा संलग्न अधिकारीहरूले अह्म भूमिका निर्वाह गर्न सक्षम बनेको उल्लेख गरेका छन्। आपतकालिन अवस्थामा राज्य सरकार सदैव राज्यबासीको पक्षमा समर्पित भएर खडा रहने राज्यपालद्वारा जारी एक विज्ञप्तिमा बताइएको छ।









