राजधानीमा ‘नर्थ इस्ट मल्टीमिडिया क्याम्पेन’ को समापन समारोह

Untitled-1-copy-8

गान्तोकः नेशनल एड्स कण्ट्रोल अर्गनाइजेशन र सिक्किम एड्स कण्ट्रोल सोसाइटीको संयुक्त तत्वावधानमा आइतवार राजधानीको मनन केन्द्रमा ‘नर्थ इस्ट मल्टीमिडिया क्याम्पेन’ को समापन समारोह आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा सिक्किमलगायत पूर्वोत्तरका सबै आठ राज्यका कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्।

उक्त जानकारी कार्यक्रम आयोजक संगठनका पदाधिकारीहरूले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए। नेशनल एड्स कण्ट्रोल अर्गनाइजेशनले पूर्वोत्तर राज्यहरूमा एचआईभी/एड्स, यौन संचारित संक्रमण र लागू पदार्थको दुरूपयोगको विषयमा जागरूकता फैलाउने काम गर्दै आइरहेको छ। विशेष रूपमा युवाहरूलाई लक्षित गर्दै संगठनले सांगीतिक र खेलकुद गतिविधिहरूको आयोजना गरिरहेको छ। संगठनले आफ्नो सन्देश प्रचार-प्रसार गर्न संगीत र खेलकुदलाई माध्यमको रूपमा अपनाएको छ।

यस क्रममा ‘नर्थ इस्ट मल्टीमिडिया क्याम्पेन’ अन्तर्गत पूर्वोत्तरका सबै आठवटा राज्यमा सांगीतिक प्रतियोगिताहरूको आयोजना गरिएको थियो। भोलि मनन केन्द्रमा आठवटै राज्यबाट चयनित एक-एकवटा ब्याण्डले आफ्नो प्रस्तुति दिने छन्। सांगीतिक कार्यक्रमबीच आयोजक संगठनले एचआईभी/एड्स, यौन संचारित संक्रमण र लागू पदार्थको दुरूपयोगको विषयमा मानिसहरूलाई सचेत गर्ने काम पनि गर्ने बताइएको छ। संगठनका अधिकारीहरू अनुसार, पूर्वोत्तर राज्यहरूमा एचआईभी/एड्स, यौन संचारित संक्रमण र लागू पदार्थको दुरूपयोग बढ्दो छ। त्रिपुरामा स्थिति निकै चिन्ताजनक छ। यद्यपि, सिक्किममा अन्य राज्यहरूको तुलनामा स्थिति एकदमै राम्रो छ। अधिकारीहरूले भोलि राजधानीमा आयोजन हुन लागिरहेको कार्यक्रमलाई सफल तुल्याउन सबैलाई सहभागी भइदिने अपील गरेका छन्।

About Author

Advertisement