गान्तोक: नेहरू युवा केन्द्र (एवाईके) गान्तोकको तत्वावधानमा आयोजित अन्तरराज्य युवा विनिमय कार्यक्रम २०२४-२५ गान्तोकमा उद्घाटन गरियो। देशका युवाहरूमा समावेशिताको भावना जाग्रत गराउन कार्यक्रम लक्षित छ। कार्यक्रममा त्रिपुरा राज्यबाट २७ जनाको टोलीले कार्यक्रममा भाग लिइरहेको छ। जुन १४ देखि १८ फरवरीसम्म चल्नेछ। राष्ट्रिय एकता अनि युवाहरूको विकास प्रोत्साहित गर्न यो कार्यक्रम केन्द्रिय युवा मामिला एवं खेलकूद मन्त्रालयद्वारा शुरु गरिएको हो। उद्घाटन अवसरमा सिम्फेडका अध्यक्ष तेञ्जिङदोर्जी भोटिया मुख्य अतिथि तथा गान्तोकका डीएसपी बिमल गुरुङ विशेष अतिथिका रूपमा उपस्थित थिए। स्वामी विवेकानन्दलाई पुष्पाञ्जलिसँगै दीप प्रज्ज्वलनका साथ कार्यक्रमको शुभारम्भ गरिएको थियो। एनवाईके, गान्तोकका जिल्ला युवा समन्वयक सौरभ बर्मनले प्रतिभागीहरूलाई युवा विनिमय कार्यक्रमको उद्देश्य अनि लक्ष्यबारे जानकारी दिए। यस अवसरमा सांस्कृतिक विनिमय कार्यक्रम पनि आयोजित गरिएको थियो, जहाँ सिक्किम माई भारतका स्वयंसेवक अनि त्रिपुराका प्रतिभागीहरूले पारम्परिक प्रस्तुतिका साथ आफ्नो सांस्कृतिक विरासत प्रदर्शित गरे। मुख्य अतिथि तेञ्जिङदोर्जी भोटियाले प्रतिभागीहरूलाई स्वागत जनाउँदै गान्तोकको निवास अवधिमा सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए। युवाहरूका लागि सिक्किमका मुख्यमन्त्रीद्वारा शुरु गरिएका विभिन्न योजनाबारे पनि उनले जानकारी दिए। यसै गरी विशेष अतिथि बिमल गुरुङले सिक्किमको समृद्ध इतिहासबारे अवगत गराए। कार्यक्रममा खेलकूद एवं युवा मामिला विभागका उपनिर्देशक एसबी सुब्बा, उपनिर्देशक नर्बुछिरिङ भोटिया, प्रतिष्ठित युवा नेता नरेश छेत्री तथा सिच्चे स्कूलको एनएसएसका अर्जुन छेत्रीको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा युवासित सम्बन्धित विषयमाथि चारवटा सत्र राखिएको थियो, जसमा नरेश छेत्री, अर्जुन छेत्री, सौरभ बर्मन अनि दिलिप शर्मा स्रोतवक्ता रहेका थिए। अन्तर राज्य युवा विनिमय कार्यक्रम राष्ट्रिय एकता, सांस्कृतिक विनिमय अनि युवा विकासका लागि लक्षित छ भने भारतका युवाहरूलाई सशक्त बनाउने दिशामा युवा मामिला एवं खेलकूद मन्त्रालयको पहल हो। (पीआइबी)










