एसकेएम पार्टीमा सामेल हुनेहरूको जिम्मा सरकारले लिनेः जेकब खालिङ
गान्तोक: दक्षिण जिल्लाको राङगाङ याङगाङ निर्वाचन क्षेत्रस्थित दोजक गाउँमा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समावेशी कार्यक्रम सम्पन्न भयो। यस अवसरमा एसकेएम पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रुपमा उपस्थित थिअए भने, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत अनि दक्षिण जिल्लाको उपाध्यक्ष प्रभारी शतिषचन्द्र राई लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। उक्त अवसरमा समावेश कार्यक्रममा क्षेत्रका ११५परिवारले एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा आधिकारिकरूपमा सामेल भए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जेकब खालिङले आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल हुनेहरूको जिम्मेवारी सरकारले लिने बताए। सबैको आवश्यकता अनुसारको विभिन्न सहुलियत साथै यो क्षेत्रको विकास गर्ने कार्य सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले लिएको उनले बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गरीबलाई सहयोग पुऱ्याउने सरकार रहेको तर पूर्व सरकार भने गरीबलाई थिचोमिचो गर्ने सरकार प्रमाणित भइसकेको पनि उनले बताए। अब उसो विभिन्न सहुलियत साथै नौकरी अनि अन्य थोकहरू एसकेएमसँग आबद्ध रहेकाहरूलाई मात्र प्रदान गर्ने जनाए। अहिले सिक्किममा खटिखानेको दिन आएको तर लुटिखानेको दिन गएको जानकारी गराए। पूर्व सरकारले ग्वाला अनि खेतीवालाहरूको पसिना खाने गरेको तर जसै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएदेखि खेतीवाला अनि ग्वालाहरूलाहरूको मेहनतको सम्मान गर्दै प्रोत्साहन राशी दिने कार्य गरिरहेको बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारको आयु कम्तिमा ३५ वर्ष रहेको उनले बताउँदै सबै मिलेर विकासको बाटोमा अघि बढने आह्वान गरे। पालै पालो गरेर सम्पूर्ण सिक्किमेहरूको विकास गर्ने तर धैर्य गरेर बस्ने पनि सबैलाई आह्वान गरे। सबैले एक अर्काको खुट्टा तान्ने व्यवहार भने त्याग्नुपर्ने सबैलाई सुझाव दिए। यसका साथै यो क्षेत्रका सम्पूर्ण शिक्षित वेरोजगार युवाहरूलाई पालैपालो गरेर नौकरी प्रदान गरिने पनि खालिङले घोषणा गरे। यसको साथै यो यहाँको यातायात व्यवस्थालाई ध्यानमा राखेर सड़क व्यवस्थामा सुधार गर्ने उनले बताए। पूर्व मुख्यमन्त्री पवन चामलिङ स्वयं राङगाङ याङगाङ क्षेत्रको विधायक हुँदा हुँदै पनि यो क्षेत्रको विकास गर्न नचाहेको तर स्पष्टवादी मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा यो क्षेत्र भावी दिनमा अवश्यै विकशित भएर जाने खालिङले बताए। पूर्व सरकारको राज्यमा आर्थिक नीति सही नभएको कारण सिक्किमको एकाध व्यक्तिहरूमात्र धनाड्य बनेको तर तिनीहरूलाई भोट दिएर चौकीमा पुऱ्याउनेहरू भने गरीबीको जीवन जिउन बाध्य भइरहेको बताउँदै वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमबाट यो गरीबीपनलाई निर्मुल पारेर लाने दिशामा एकाग्र भएर कार्य गरिरहेको उनले बताए। चाँढ़ै सिक्किमबाट गरीबीपन पूर्ण रुपमा अन्त भएर जाने निश्चयता प्रकट गरे। यसको साथै पवन चामलिङले जात-धर्ममा विभाजन गरेको समाजलाई सिउने काम गर्दै धार्मिक अनि सांस्कृतिक स्वतन्त्रता दिएको उनले बताए। पूर्व सरकारले सिक्किमे नागरिकहरूमा मानव मुल्यहरूको हत्या गर्ने कार्य गरेको उनले बताए। तिनताकमा पूर्व मुख्यमन्त्री चामलिङले एकले अर्काको धर्म र संस्कृतिको विरोध गर्ने दिशामा मात्र उक्साउनु गरेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सचिव बस्नेतले दोजक गाउँलाई पूर्व सरकारले केवल भोट ब्याङ्गको रुपमा अनि पार्टीको झण्डा लगाउन मात्र प्रयोग गरेको बताए। २५ वर्षको एसडीएफ कालमा क्षेत्रको एकै जनालाई पनि एसडीएफ सरकारले नौकरी दिननसकेको बताउँदै यहाँको सोझो जनतालाई लट्याउने काम मात्र गरेको बताए। वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले अवश्यै पनि यो गाउँ विकशित भएर जाने आशय व्यक्त गरे। आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका समावेश हुने कसैलाई पनि धोका नहुने उनले सबैलाई आश्वस्त गराए।









